गैँडाकोट – व्यवसायी एकदेव रिमालको पहिलो कृति ‘चिसो बाकस’ कवितासंग्रह बिहीबार एक समारोहबिच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीलगायतले कृति लोकार्पण गरेका हुन् ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले आफू प्राज्ञ नभएकोले निकट भविष्यमै नगर प्रज्ञाप्रतिष्ठानको कुलपति पदबाट हट्न लागेको जानकारी दिए । ‘नगर प्रमुखको हैसियतलेमात्र कुलपति बनेको हुँ’ उनले भने, ‘आठ–दस दिनमा कुलपति पद कुनै प्राज्ञलाई दिँदैछु ।’
चिसो बाकस कवितासंग्रहमाथि टिप्पणी गर्दै कवि एवं आख्यानकार भूपिनले कविता धेरै गम्भीर विधा भएको र यसको आबद्धता संस्कृतिसँग हुने बताए । ‘केही कवितामा व्यङ्ग्य र विद्रोह छ’ उनले भने, ‘प्रयोगशील कविता पनि छन् ।’ लेखक उदय अधिकारीले आध्यात्मिक रुझानका साथ ‘चिसो बाकस’ आएको बताए । शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षक प्रेम रिमालले रहर पूरा गर्न नभई देशका लागि लेख्न कवि, लेखकहरुलाई आग्रह गरे ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भीमप्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए । उपकुलपति विनोदीले चिसो बाकसमा पुराण, इतिहास, भूगोल, प्रकृति, संस्कृति र समाजका विम्बहरु समातेर लेखिएका कविता रहेको बताए ।
कृतिकारका पिता इश्वरीनाथ रिमालले मन्तव्य व्यक्त गर्दै कृतिमा ४९ वटा कविता रहेको जानकारी गराए । कृतिकार एकदेव रिमालले मन्तव्यसँगै तीन वटा कवितावाचन गरेका थिए । बालकृष्णि थपलिया, गणेश श्रमण, गोविन्द रिमाल, मीना रिमाल र विश्व लम्सालले पनि कृतिभित्रका केही कवितावाचन गरेका थिए ।


