चितवन – भरतपुर भ्रमण वर्ष २०२४ सकिएको तीन साता भयो । तपाईंले भरतपुरको भ्रमण गर्नुभयो त ? गर्नुभएको छैन भने तपाईंलाई स्वागत गर्न भरतपुर महानगरपालिका तम्तयार भएर बसेको छ ।
तपाईंले भरतपुरको भ्रमण गरिसक्नु भएको भए नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्म ६ किलोमिटर लामो ६ लेनको सडक भएरै यात्रा गर्नुभयो होला पक्कै । यो ६ लेन सडकमा दुईतिर सर्भिस लेन र बिचमा फराकिलो दुई खण्डको वान वे सडक देख्नुभएकै होला ।
फराकिलो राजमार्गलाई हरियो दुबोसहितको डिभाइडरले दुई खण्डमा विभाजन गरेको छ । डिभाइडरको ठाउँठाउँमा हरिया ढुङ्गामाथि सेता अक्षरका सन्देश पनि देखिन्छन् । ६ लेन सडकको ठेक्कामा यी ढुङ्गाको कुरै थिएन । कहाँबाट आए होलान् यी ढुङ्गा ? कसले यसरी सजाएको होला ?
भरतपुर महानगरपालिकाको अगुवाईमा सवा एक अर्ब रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न भएको पुलचोक–गोन्द्राङ ६ लेन सडकमा सजाइएका यी ढुङ्गा नारायणी नदी किनारबाट ल्याइएका हुन् । सयभन्दा बढी यी ढुङ्गालाई धोइपखाली गरी रङ लगाउने, अक्षर लेख्ने र डिभाइडरमा ल्याएर राख्ने काम भरतपुर महानगर प्रहरीको टिमले एक हप्ता लगाएर गरेको हो ।
‘पुलचोक–गोन्द्राङ ६ लेन सडकमा र भरतपुर बसपार्कचोकदेखि आँपटारीसम्मको बाइपास सडकका डिभाइडरमा पनि सेता अक्षरयुक्त हरिया ढुङ्गाहरु राख्ने काम हामीहरुले नै गरेका हौँ’ महानगर प्रहरी प्रमुख डिएसपी कृष्णहरि ढकाल भन्छन्, ‘नारायणी किनारबाट गाडीमा ढुङ्गा ल्याएर ११० वटा ढुङ्गामा रङ लगाई सन्देश लेख्ने, सुकाउने र डिभाइडरमा लगेर राख्ने सबै काम एक हप्तामै सक्यौँ ।’
महानगर प्रहरीले सङ्कलन गरेका ढुङ्गालाई रङ्याउन आवश्यक रङ भरतपुर महानगरपालिकाले सहयोग गरेको हो । ‘महानगर प्रहरी प्रमुखले ढुङ्गा राख्ने योजना सुनाएपछि त्यसका लागि आवश्यक रङ महानगर कार्यालयले उपलब्ध गराएको हो’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘महानगर प्रहरीको टिमले थोरै खर्चमा ६ लेन सडकको सुन्दरता बढाउने काम गरेको छ ।’
ढुङ्गा रङ्याउन र त्यसमाथि सन्देश लेख्न हरियो र सेतो रङ जम्मा चार लिटर मात्र लागेको महानगर प्रहरी प्रमुख ढकालले जानकारी दिए । यसरी डिभाइडरमा सन्देशयुक्त ढुङ्गा राख्ने अवधारणा आफूले नै ल्याएको ढकाल बताउँछन् । ‘म सेवानिवृत्त सेना हुँ । ब्यारेकमा हामीले ढुङ्गा ओछ्याएर फूलबारी सजाउने गथ्र्यौं’ ढकालले भने ‘सडकको डिभाइडरमा पनि रङ्गीन ढुङ्गा राखेर सजाउँदा राम्रै होला भनेर यस्तो अवधारणा ल्याएर काम गरियो ।’


