टेलिभिजन कर्म निकै सङ्घर्षपूर्ण यात्रा रहेछ : प्रभा थापा

आठ वर्षदेखि पत्रकारितामा सक्रिय प्रभा थापाले एभिन्युज टेलिभिजनमा समाचार प्रमुखको भूमिका निभाइसकेकी छन् । अहिलेसम्म एभिन्युज खबरमा नै उनको यात्रा निरन्तर छ । ‘टेलिभिजन कर्म निकै सङ्घर्षपूर्ण यात्रा रहेछ’ थापा भन्छिन्, ‘ पेशा होइन, जीवनशैली वा जीवन पद्धति नै हो टेलिभिजन कर्म । यदि गर्न सके नाम, दाम र शान सबै छ टेलिभिजन कर्ममा ।’

जतिबेला थापा पत्रकारितामा लागिन् त्यो समयमा महिला भएर महिलाबारे मात्र रिपोर्टिङ गर्नुपर्छ भन्ने थियो । त्यसरी सानो घेरामा बसेर पत्रकारिता नगर्ने निधो गरेर रिपोर्टिङ सुरु गरिन् थापाले । लामो समय पत्रकारितामा सक्रिय रहँदा महिलाको हकमा मिडिया हाउस अझै उदार हुन नसकेको उनको अनुभव छ । ‘काममा पनि निरन्तरता दिन सके टिक्न गाह्रो भने छैन’ उनी भन्छिन्, ‘म आफूसँगै पत्रकारिता गर्नुभएका केही साथीहरूलाई नियाल्छु । पत्रकारिता सुरु त गरे तर निरन्तरता दिन चुके । पत्रकाारिता गर्न आँट बोकेर आउनुपर्छ । काम गर्न सकिन्छ ।’

२०६२-६३ सालको जनआन्दोलनपश्चात् पत्रकारितामा महिला सहभागिता केही मात्रामा बढेको छ । यस क्षेत्रमा लाग्ने महिलाहरुका लागि चुनौतीहरु यत्रतत्र छन् । घर, परिवार र समाजले एउटी महिलाको लागि तय गरिदिएको सीमित दायराभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्न कठिन मात्रै नभएर असम्भव पनि हुने तथ्य यदाकदा नदेखिएको पनि होइन ।

थापा कसरी संचार क्षेत्रमा आइन् त ? उनी भन्छिन्, ‘म भित्रको अभिव्यक्ति प्रस्फुटनको चाहना र सार्वजनिक संचारमा काम गर्ने हुटहुटीले मलाई संचारमाध्यममा ल्यायो । एभिन्युज टेलिभिजनले प्रारम्भिक पाइला टेकायो । अहिलेसम्म एभिन्युज खबरमा नै मेरो यात्रा निरन्तर छ । सार्वजनिक चासोको विषयमा सधैँ मेरो रुचि रह्यो । त्यसैले मलाई खबर भन्दै गर्दा उत्पीडन, अन्याय अनि विभेद जस्ता विषयहरुले छुने गर्छ । म सकभर त्यस्ता विषय उठानमा व्यवसायिक मात्रै होइन, व्यक्तिगतरुपमा पर्दा बाहिरै गएर पनि आफ्नो भूमिका निभाउने गर्छु ।’

सन् २०१७ देखि एभिन्युजको पर्दामा खबर भन्न थालेकी थापालाई टिभीमा पहिलोपटक समाचार पढेको आजै हो जस्तो लाग्छ । ‘यो पेशा आफ्नो रुचिको विषय भएकोले नेपाली संचार जगतका र अझ भनौँ नेपाली टेलिभजनका अग्रजहरु धेरैबाट प्रभावित थिएँ’ उनी भन्छिन्, ‘उहाँहरुकै संघर्ष र सफलता मेरो प्रेरणा बन्यो अनि वहाँहरुकै आशीर्वाद लिएर हिँडिरहेकी छु । ग्ल्यामर छ, पुग्दो पैसा पनि एउटा तहमा पुगेपछि आउँछ नै ।’

Forbes

मिडिया क्षेत्रलाई कसरी बुझेकी छन् त थापाले ? यस जिज्ञासामा उनको उत्तर थियो, ‘मिडियाको यात्रा तीन चरणमा बुझ्छु मैले । पहिलो चरण संघर्षपूर्ण, दोस्रो चरण उत्साहपूर्ण र तेस्रो चरण जिम्मेवारीपूर्ण छ । अन द स्क्रिन आउँदा प्रत्येक बुलेटिन एउटा चुनौतीसहितको युद्ध जिते जस्तो लाग्ने गथ्र्यो । काम सकेर घर फर्कंदै गर्दा गर्वले ढक्क मन फुल्थ्यो । समाज र देशको लागि थोरै भए पनि केही गरे जस्तो अनुभूति भएको छ ।’

मधेस आन्दोलन, नाकाबन्दी, कोरोनाको महामारीमा पनि नेपाली संचारमाध्यम र हाम्रो पत्रकारिताले देश र समाजप्रति न्याय नै गरेको छ जस्तो लाग्छ थापालाई । पत्रकारिता भनेको हरेक समयमा र हरेक ठाउँमा उत्तिकै चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण रहेको उनी बताउँछिन् । उनको बुझाईमा नेपाली पत्रकारिता हरेक दिन परिपक्व र व्यावसायिक बन्नेतर्फ नै उन्मुख छ ।

‘म सिक्दैछु, धेरैले मेरो काम रुचाई दिनुभएको छ’ आफ्नो कामबाट सन्तुष्ट थापा भन्छिन्, ‘हरेक बुलेटिनपछि प्रतिक्रिया पाउँछु । अझै सिक्ने र राम्रो गर्ने प्रेरणा दिनु हुने मेरा सबै दर्शक र पाठकहरुमा लाखौँलाख आभार ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु