अनुगमनका टोली पुग्दा पसले भागाभाग……

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका – १६ भन्सार क्षेत्रमा बुधवार बजार अनुगमन टोली पुग्दा सेकुवा, मदिरा होटेल र किराना पसलका व्यापारीहरू पसल नै बन्द गरेर भागेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि मन्दिप यादवको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीलाई देख्नासाथ व्यापारीहरू सटर झारेर भागेका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेलका अनुसार, अनुगमन टोली दिउँसो साढे २ बजे भन्सार क्षेत्रमा पुग्दा करिब दुई दर्जन पसलका व्यवसायीहरू पसल छाडेर हतार-हतारमा भागेका थिए ।
भुजेलले भने, “टोली भन्सार क्षेत्रमा पुगेर गाडीबाट झर्न नपाउँदै व्यापारीहरू सरसामान छाडेर सटर बन्द गरेर भागे । त्यहाँ केही समय पसलेहरूको भागाभाग भयो ।”

अनुगमनका क्रममा प्रमोद होटेल, प्रिन्स एण्ड प्रीति किराना जनरल स्टोर, र कृष्ण सेकुवा कर्नरमा भने अनुगमन गरिएको थियो । जहाँ म्याद गुज्रिएका बेसन, सेवई, सोनपापडी, बिस्कुटजस्ता सामग्री जफत गरी नष्ट गरिएको भुजेलले जानकारी दिए ।

टोलीले होटेल तथा किराना पसलहरूको सरसफाइ अवस्था, व्यवसाय दर्ता, र इजाजत पत्रहरूको अवस्थाबारे अनुगमन गर्ने योजना बनाएको थियो । तर, अधिकांश पसलेहरू सटर बन्द गरेर भागेपछि अन्य पसलहरूमा अनुगमन गर्न नसकिएको भुजेलले बताए ।

Forbes

टोलीले केही पसलेहरूलाई बोलाएर सरसफाइलाई चुस्त राख्न, व्यवसाय दर्ता नगरेको भए दर्ता गर्न, र नवीकरण गर्न आग्रह गरेको थियो ।

अनुगमन टोलीमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका कविकान्त कुशवाहा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका निमित्त अधिकृत जगत् चौधरी, होटेल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका उपाध्यक्ष रचेन्द्र थापा, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक राम विश्वास पटेल सहभागी थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु