वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज चौकको सडकदेखि करिब पाँच सय मिटर पश्चिमको कुलोको बाटोबाट प्रहरीले चार जनलाई पक्राउ गरेको हो ।
कुलोको बाटो भएर अपरिचित मानिसहरू टाउकोमा लागूऔषध गाँजा बोकी जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक लम्सालकाअनुसार उनीहरूले बोकेको प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरी राखिएको चार पोकामा ५० केजी लागूऔषध गाँजा भेटिएको हो ।
गाँजासहित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुर ४० वर्षीय पारस यादव, सोही ठाउँका ५२ वर्षीय मैनादिन मियाँ, बहुदरमाई नगरपालिका वडा नम्बर ७ तिनटोलियाका ३६ वर्षीय अकवर मियाँ र सोही वडाको छप्कैया टोलका ४५ वर्षीय शिव महतो पक्राउ परेका हुन् ।
उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।


