चितवन – तोरीखेती गरिने क्षेत्र बढेसँगै चितवनमा यस वर्ष तोरीको उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष तोरीखेती गरिने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको हो ।
चितवनमा गत अर्थिक वर्षको तुलनमा यस चालु आर्थिक वर्षमा तोरीखेती गरिने क्षेत्रफल ७ देखि १० प्रतिशत बढेकाले तोरीको उत्पादन पनि बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत निर्मल पौडेलले बताए ।
चितवनमा गत आर्थिक वर्ष २०८०÷८१ मा १३ हजार ६ सय ४२ हेक्टरमा तोरीखेती भएको र १७ हजार ६ सय ८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो प्रतिहेक्टर १ दशमलव २९ मेट्रिक टन हुन आउँछ ।
गत वर्षभन्दा यस वर्ष तोरीको बिउ बढी खपत भएको र कृषकले तरकारीको सट्टा खाली रहेको जग्गामा पनि तोरी लगाएको हुनाले तोरीखेतीको क्षेत्र बिस्तार भएको पौडेलले बताए । उनले भने, “यस वर्ष तोरीको अन्तिम तथ्यांक आइसकेको छैन । तर हामीले फिल्ड भिजिट गरे अनुसार यो वर्ष पोहोरको भन्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरेका छौं ।”
पछिल्लो वर्षहरुमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रुपमा यस बालीमा खर्च कम र आम्दानी बढी हुने भएकाले किसानहरुको तोरीखेतीमा आकर्षण बढेको उनको भनाइ छ । उनका अनुसार छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँहरुमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम असर गर्ने भएकाले पनि तोरीखेतीप्रति किसानहरु आकर्षित भएका हुन् ।
तोरीखेती प्रवर्धन गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न कार्यक्रम ल्याएको हुनाले पनि कृषकहरुलाई प्रोत्साहन मिलेको उनले बताए ।
दुई दशक अघिसम्म तोरीको जिल्लाको रुपमा प्रख्यात चितवनमा बिचमा केही समय तोरी उत्पादन घटेको थियो । उत्पादनले भाउ पाउन थालेपछि पछिल्ला वर्षहरुमा किसानहरु बिस्तारै तोरीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
चितवनमा कात्तिकदेखि नै तोरीखेती गरिन्छ । माघको अन्तिममा थन्क्याइन्छ । अधिकांश किसानहरुले बर्खे धान थन्क्याएपछि तोरी लगाउने गर्छन् ।
पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती लगाउने किसानहरुको संख्या बढेको छ ।