बिरगंज – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा खानेपानी सुविधा सुधारका लागि नयाँ पाइपलाइन विस्तार परियोजना सुरु भएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जको रामराजापुलदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी र जगरनाथपुरसम्मको पाँच किलोमिटर लामो पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै सबै नेपालीलाई शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व भएको बताए ।
परियोजना करिब २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिँदै छ । यसमा ६ इन्चको जीआई पाइप प्रयोग गरिने छ । मन्त्री यादवले आगामी छ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।सरकारको “एक घर, एक धारा” अवधारणाअनुसार मन्त्रालयले विभिन्न योजनाहरू अघि बढाइरहेको छ । यसै सन्दर्भमा इनर्वा मनियारी क्षेत्रका नागरिकका लागि सुरु गरिएको परियोजनाले दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
वीरगञ्ज महानगरपालिका हाल ३२ वटा वडामा विस्तार गरिएको छ । थपिएका वडाहरूमा खानेपानी पुर्याउन नेपाल खानेपानी संस्थानले नयाँ पाइपलाइन विस्तारमा काम गरिरहेको छ । संस्थानका वीरगञ्ज शाखा प्रमुख प्रवीण साहले परियोजनाले वडाहरूका नागरिकलाई ठूलो राहत दिने बताए ।
शिलान्यास कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारस साह, नेपाल खानेपानी संस्थानका इन्जिनियर महाशाखा प्रमुख निरन महर्जनलगायत अन्य अधिकारी र उपभोक्ताहरूको सहभागिता रहेको थियो ।
मन्त्री यादवले तराई, पहाड र हिमाली क्षेत्रका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने दीर्घकालीन लक्ष्यमा सरकार कटिबद्ध रहेको पुनः दोहोर्याए । खानेपानीको पहुँचमा सुधार गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।


