चितवन – निःसन्तानपनको समाधानका लागि कृत्रिम गर्भाधान (आइभिएफ) उपचार सेवा दिँदै आएको शिशु फर्टिलिटी क्लिनिकले पाँच सयभन्दा बढी शिशुलाई जन्माउन सफल भएको खुसीयालीमा बुधबार भरतपुरमा उत्सव मनाएको छ ।
उत्सवमा सहभागी भई ‘शिशु’ ले आमा बनाएकाहरूले आफ्ना अनुभूति सुनाएका छन् । विवाह भएको २० वर्षपछि आमा बनेकी भोजकुमारी पौडेलले भनिन्, ‘अब बच्चा हुन्न भनेर बसेको बेला आमा बन्न पाउँदा निकै खुसी छु ।
विवाहको दस वर्षपछि आमा बन्न सफल सरिता चौधरीले पनि आफ्ना अनुभूति सुनाइन् । ‘मलाई सासू र ससुराले बच्चा पाउनै सक्दिनस् भन्थे’ चौधरीले भनिन्, ‘दस वर्षपछि आज आएर शिशु फर्टिलिटीले मलाई आमा बनाइदियो ।’
जुम्ल्याहा सन्तानकी आमा जया सिलवालले बिहे गरेको चार वर्षपछि शिशुमा आएर आइभिएफ उपचार पध्दतिबाट आमा बन्न सफल भएको बताइन् । उनले आमा बन्न सहज नभएको बताइन् । आमा बनेपछिको खुसी अतुलनीय रहेको उनले सुनाइन् ।
शिशुमा आएको ६ महिनामै गर्भ रहन सफल भई एउटा छोराको आमा बनेकी शान्ति कुमालले बिहे भएको दस वर्षसम्म आमा बन्न नसक्दा निकै मानसिक पीडा सहनु परेको बताइन् । ‘कुन अस्पताल पुगिन ? कुन मन्दिरमा पुगिन ? कुन डाक्टरकहाँ पुगिन ? भन्ने त मलाई मात्रै थाहा छ’ भावुक हुँदै कुमालले भनिन्, ‘आज आमा बन्न पाउँदा धेरै खुसी छु । धन्यवाद छ शिशु फर्टिलिटीलाई ।’