चितवन – चितवनमा एक वर्षमा ८० वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (मंगलबार) भरतपुरमा वार्षिक पूर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार सन २०२४ मा जिल्लाभर ८० वटा मानव अधिकार उल्लंघनका घटना भएको हो ।
तथ्याङ्क अनुसार एक बर्षमा जिल्लाभर सबैभन्दा धेरै बालिका बलात्कारको घटना भएका छन् । बालिका बलात्कारका घटना ३१ वटा रहेको तथ्यांकमा छ ।
बाल यौन दुरुपयोगका घटना २१, महिला बलात्कारका घटना १२, वहुविवाह घटना ८, महिला बलात्कार प्रयास ३, मानव बेचबिखन २, कर्तव्य ज्यानतर्फ २ र छुवाछुतसम्बन्धी १ घटना भएका छन् ।
सो अवधिमा कुल १२ वटा मुद्दा फैसला भएकोमा ६ वटामा अभियोगबाट सफाई पाउने फैसला भएको र ६ वटामा आरोपीतलाई सजाए भएको इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए ।
इन्सेकका प्रतिनिधि अधिकारीले गत वर्षको तुलनामा यस वर्ष चितवनमा मानव अधिकारका घटनामा कमी आएको बताए । घटनामा कमी आए पनि मानव अधिकारका घटना निर्मुल भने हुन नसकेको बताए । उनले मानव अधिकारका घटना न्युनिकरणका लागि सबै निकायले सहयोग गर्नुपर्ने बताए ।