सफल एआइजी किरण बज्राचार्य

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख छिन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य । सुरक्षा संवेदनशील मानिने काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपटक महिलाले सम्हाल्ने अवसर बज्राचार्यले पाएकी हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी बज्रचार्यले यसअघि एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा ५ महिना पहिले उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी छिन् ।

२०७३ सालमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा किरणले संगठित रुपमा मानव बेचबिखन गर्ने संगठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएकी थिइन् । उक्त सफलतापछि अमेरिकी विदेश मन्त्रालयले मानव बेचबिखन विरुद्धको अभियानमा ठूलो सफलता प्राप्त गरेको भन्दै ‘टीआईपी रिपोर्ट हिरो’ को रुपमा सन् २०१६ मा उनलाई सम्मानित गरेको थियो ।

आफ्नो कर्तव्यलाई पूर्णरुपमा पालना गर्ने किरण सीआईबी निर्देशक हुँदा तत्कालीन गृहमन्त्री रवि लामिछानेले अनेक लाञ्छना लगाएर सीआईबीबाट सरुवा गराएका थिए । तर ती आरोप पुष्टि हुन नसकेपछि उनले उपत्यकाको पूर्ण जिम्मेवारी पाएकी हुन् ।

‘जे हुन्छ राम्रैकै लागि हुन्छ भनेर त्यतिबेला म मिडियामा आइन’ बज्राचार्य भन्छिन्, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन भन्ने कुरा पनि बुझेको छु ।’

Forbes

किरण २०५१ चैत ५ गते नेपाल प्रहरीको इन्स्पेक्टरमा खुलेको खुल्ला प्रतिस्पर्धामार्फत प्रहरी सेवामा प्रवेश गरेकी हुन् । प्रहरीमा महिलातर्फ किरणको छवि अब्बल प्रहरी अधिकृतको थियो । उनी लैङ्गिक फाइदा लिएर संगठनमा अगाडि बढेकी होइनन्, प्रतिस्पर्धाबाटै अगाडि बढेकी हुन् ।

किरण नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदको पहिलो महिला प्रतिस्पर्धी समेत बनिन् । उनी आईजीपी नियुक्त भएको भए नेपाल प्रहरीको पहिलो महिला आईजीपी हुने थिइन् । त्यतिबेला सरकारले वसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको थियो ।

पुरुष प्रहरीको तुलनामा महिला प्रहरी न्यून भए पनि महिला प्रहरी प्रतिस्पर्धी रुपमा अघि देखिएका छन् । पछिल्लो समय नेपाल प्रहरीमा जागिर खान महिलाको आर्कषण बढेसँगै महिला प्रहरीको कार्यशैली पनि उत्कृष्ट देखिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु