चितवन – भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आफ्नो पदभार ग्रहण गरेको ठ्याक्कै दुई वर्ष पूरा भयो । अध्यक्ष पौडेलले आफ्नो कार्यकालको दोस्रो वर्षमा अस्पतालबाट एमआरआई सेवा प्रारम्भ गरिसकेका छन् । आकस्मिक सेवा (इमरजेन्सी) भवनमाथि ट्रमा सेन्टर धमाधम निर्माण भइरहेको छ ।
‘इमरजेन्सी भवनमाथि ट्रमा सेन्टरका लागि दुई तला निर्माणको ठेक्का ११ करोडमा भइसकेको छ’ अध्यक्ष पौडेलले भने, ‘भवन निर्माण कार्य सकिएपछि ९ करोड रुपैयाँका मेसिन थपिने छ । आगामी वर्ष साउनदेखि नयाँ भवनबाट ट्रमा उपचार सेवा सुरु गर्ने लक्ष्य छ ।’ नर्सिङ भवनमा समेत कोठा थप गरिएको उनले बताए ।
भरतपुर अस्पतालमा गत साउनदेखि एमआरआई सेवा सञ्चालनमा आएको जानकारी दिँदै अध्यक्ष पौडेलले भने, ‘दैनिक १८ देखि २० जनाले सेवा पाइरहेका छन् । निकट भविष्यमा मुटुका बिरामीहरुको लागि क्याथल्याब सेवा सुरु गर्दैछौँ । त्यसका लागि भवन बनिरहेको छ भने सामान भन्सारमा आइसकेको छ । दुई महिनाभित्र क्याथल्याब सेवा सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’
आँखाको उपचार सेवा चश्मासहित सुरु भइसकेको जानकारी दिँदै अध्यक्ष पौडेलले निकट भविष्यमै आँखाको सानातिना शल्यक्रिया सेवा पनि सुरु गरिने बताए । ‘वेलनेस क्लिनिक, बच्चा वार्डमा प्ले थेरापी र दैनिक योग चलिरहेको छ । अस्पतालको ब्लड बैंक सञ्चालनमा ल्याएका छौँ’ उनले भने ।
‘न्युरो सर्जरी र युरोलोजी सेवा सुरु गरिसकेका छौँ’ अध्यक्ष पौडेलले भने, ‘दुरबिनबाट शल्यक्रियाका लागि पहिले एउटा मात्र मेसिन थियो । अहिले तीन वटा मेसिन छन् । पहिले एक वर्षसम्म पालो कुर्नुपथ्र्यो, अहिले बढीमा चार महिनामै पालो आउँछ ।’ रोटरी क्लबसँगको सहकार्यमा स्पाइनल इन्जुरी सेन्टर व्यवस्थापनको काम भइरहेको उनले बताए ।
सामाजिक सुरक्षा कोषमा आबद्धता
विकास समितिअन्तर्गत नियुक्ति पाएका पाँच वर्षभन्दा लामो समयदेखि कार्यरत डाक्टर, नर्स र अन्य कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको अध्यक्ष पौडेलले बताए । ‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुने पहिलो सरकारी अस्पताल बनेको छ भरतपुर अस्पताल’ उनले भने, ‘बेसिक तलबको २० प्रतिशत अस्पतालले र ११ प्रतिशत कर्मचारीले थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा हुन्छ । भविष्यमा जागिर छोड्दा यो रकम कर्मचारीले एकमुष्ट पाउँछन् ।’
स्वास्थ्यकर्मी र कर्मचारीहरुको सेवालाई चुस्त बनाइराख्न पुरस्कार र दण्डको व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए । ‘अस्पताल प्रबन्धक, सूचना अधिकारी र जनसम्पर्क अधिकृतको व्यवस्था गरेका छौँ’ उनले भने, ‘रात्रिकालीन अनुगमन सुरु गरेका छौँ । राम्रोसँग काम नगर्ने केही कर्मचारी कारबाहीमा परेका पनि छन् ।’
ओपिडी टिकट लिनुअघि टोकनको व्यवस्था गरी टिकट लिन लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य गरिएको अध्यक्ष पौडेलले बताए । धेरै भिड हुने ठाउँमा टोकनको व्यवस्था मिलाइएको उनले जानकारी दिए । बिरामीको गुणस्तरीय सेवाका लागि यसै वर्षदेखि एमडी र एमएसको अनि आगामी वर्ष एमबिबिएसको पढाइ सुरु गरिने पौडेलले सुनाए ।
पौडेल अध्यक्ष भएर आएपछिको पहिलो वर्ष भरतपुर अस्पतालले ३ करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । दोस्रो वर्ष २ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी भएको पौडेलले बताए । उनले भने, ‘बैंकको ब्याजदरमा आएको परिवर्तनले यस वर्ष केही कम आम्दानी भए पनि ब्याजबाट मात्रै हामीले २ वर्षमा ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ ।’
आफ्नो कार्यकालमा अस्पताललाई सुन्दर बनाउने कामलाई प्राथमिकतामा राखेर पानीको फोहरादेखि लिएर बगैँचा निर्माणसम्म गरिएको पौडेलले बताए । विपन्न बिरामीलाई ध्यानमा राखेर गत महिना स्थापना गरिएको कपडा बैंकमा सहयोग गर्नेहरु बढेको उनको भनाइ छ ।


