चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान मेघौलीमा पुस १२ गते शुक्रबारदेखि पाँच दिनसम्म रैथाने खाना महोत्सव हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवस्थलमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिइएको थियो । महोत्सवको आयोजकमा भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समिति छन् । महोत्सवको प्रवर्धकमा भरतपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासंघ छन् ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । थारु र कुमाल जातिको सांस्कृतिक नृत्यहरु पनि रहने छन् । महोत्सव उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको शोभायात्रा निकालिने आयोजकले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले व्यावसायिकरुपमा नाफा गर्ने उद्देश्य नराखिएको भन्दै महोत्सवमा प्रवेश निःशुल्क गरिएको जानकारी दिइन् । उनले महोत्सवमा मञ्च निर्माण, साउण्ड सिस्टम र भरतपुरमा गेट निर्माणको खर्च महानगरले व्यहोर्ने र अन्य खर्च आयोजकहरुले नै व्यहोर्ने बताइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भ्रमण वर्ष समापनका लागि महानगरले २० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै सोही रकमबाट केही रैथाने महोत्सवलाई निकासा गरिने बताए ।
महोत्सवका संयोजक मायाराम चौधरीले महोत्सव सम्पन्न गर्न ६१ लाख ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको जानकारी दिए । महोत्सवमा थारु, दराई, कुमाल, मगरलगायत विभिन्न जातिका खानाका परिकार हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा खान पाइने बताए ।
चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले कालो सुँगुरको मासु र घरेलु मदिरा पनि बिक्रीका लागि राखिने जानकारी दिए । घरेलु रक्सीले कानुनी मान्यता पाउनु पर्छ भन्ने पक्षमा आफूहरु रहेको उनले प्रष्ट पारे ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्ट, भरतपुर महानगरका पर्यटनविज्ञ विश्व सुवेदीलगायतले बोलेका थिए ।


