जाडोमा दाँतको सुरक्षा कसरी गर्ने ?

चितवन – चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ । मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको समस्या ।

जाडोमा ओठ तथा मुख सुख्खा हुने, दाँत दुख्ने, रगत आउने, गिँजा सुन्निने, दाँत सिरिङसिरिङ हुने समस्याले धेरैलाई सताउँछ । गर्मीभन्दा जाडोमा यस्ता समस्या तुलनात्मक रुपमा बढी हुने गर्छ । हामीले नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान दिँदैनौँ । सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गरेको डाक्टरको भनाइ छ ।

डेन्टल सर्जन डा. आकांक्षा पौडेल भन्छिन्, ‘जाडोमा गर्मीको तुलनामा कम पानी पिउने गरिन्छ, जसको कारण ओठ तथा मुख सुख्खा हुने, मुखमा थुक जम्मा हुने र त्यसले गर्दा ब्याक्टेरिया बढ्ने गर्दछ र संक्रमण हुने गर्दछ ।’ यसबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्ने र दाँतको सुरक्षामा विशेष ध्यान दिनुपर्ने डा. पौडेलले बताइन् ।

जाडोमा धेरै तातोतातो खानेकुरा, चिया, कफी खाने गरिन्छ । यसले गर्दा गिँजा सुख्खा हुने र दाँत किराले खाने गर्दछ । त्यसैले धेरै तातो वा धेरै चिसो खानेकुरा खान नहुने उनको भनाइ छ । डा. पौडेलका अनुसार एकैपटक धेरै तातो वा धेरै चिसो खानेकुरा खाँदा दाँतको बाहिरी भागको लेयर अर्थात् इनामेल जाने गर्दछ । त्यसपश्चात दातमा सिरिङसिरिङ हुने र दाँत सम्बन्धी अनेक समस्याहरु बढ्दै जाने हुन्छ ।

अहिले बच्चाहरुमा दाँत सम्बन्धी समस्याहरु बढ्ने गरेको उनले बताइन् । बढी गुलियो, बाहिरी खानेकुरा बढी खाने गर्दा यस्तो समस्या बढेको उनको भनाइ छ । बच्चालाई दूध वा अन्य खानेकुरा खुवाइसकेपछि पानी वा माउथ वासले कुल्ला गर्दिने र सानैदेखि ब्रस गर्न सिकाउनु पर्ने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘वास्तवमा दाँतमा किरा हुँदैन । बच्चाहरुमा किन धेरै समस्या देखिन्छ भन्दा बच्चाहरुको सात महिनादेखि दाँत निस्कन सुरु हुन्छ । तर धेरैजसो बच्चाहरुलाई दुई वर्षपछि मात्र अभिभावकले ब्रस गराउने गर्छन् । त्यसअघि बच्चाले ब्रस गरेको हुँदैन । खाएको खानाले दाँतलाई सडाउन थाल्छ । अनि बिस्तारै खाएको खानेकुरा मुखमा अड्किएर रह्यो भने अमिलोपन, एसिड निस्कन्छ । त्यसले दाँत खिइन्छ । खाल्डो बन्दै जान्छ । त्यही खाल्डोलाई नै सडेको भनिन्छ । किरा लागेको भन्ने हुँदैन ।’

दाँतको समग्र सुरक्षाको लागि खाना खाइसकेपछि दिनमा २ पटक बिहान र बेलुका ब्रस गर्ने, ब्रस गर्दा धेरै घोटेर वा रगटेर नगर्ने, चिसो वा तातो खाँदा समय मिलाएर खाने, गुलियो सेवन कम गर्ने, सुर्तीजन्य पदार्थ सेवन नगर्ने, दाँतको सामान्य दुखाइमा नुनपानीले मुख कुल्ला गर्ने, दन्त संवेदनशीलता अनुसार तयार गरिएको मञ्जन प्रयोग गर्ने, कडा ब्रस प्रयोग नगर्ने, हरियो सागपात बढी खाने, पोषणयुक्त, भिटामिन सी, क्याल्सियमयुक्त खाना खानु पर्ने उनको भनाइ छ । यसो गर्दा दाँत मजबुत हुने र दाँतसम्बन्धी समस्याहरु कम हुने डा. पौडेल बताइन् ।

दन्त चिकित्सकसँग परामर्श लिने, वर्षको कम्तीमा दुई पटक दन्त चिकित्सकलाई भेट्ने, जँचाउने र दाँत सफा गराउने, ३ देखि ६ महिनमा ब्रस चेन्ज गर्ने, सजिलैसँग दाँतमा टाँसिने खाना (चकलेट, रेडिमेड खाना, चाउचाउ, कुरकुरे,बिस्कुट) धेरै नखाने, केही खाएपछि दाँत कुल्ला गर्नुपर्ने उनले बताइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू