चितवन – कच्ची बाटोसँग जोडिएको जमिनमा बनेको लाम्चो टहरो । टिनले छाएको टहरोमुनि बस्छन् तीन परिवार । तीन परिवारमध्ये एउटा परिवार शिव कुमालको हो । शिवको परिवारमा उनकी श्रीमती शर्मिला, छोरी प्रज्ञा, छोरा एनुस र कान्छी छोरी बस्छन् । यस परिवारका सबै ठिकठाक छन् तर एनुसमा बहुअपाङ्गता छ । एनुसको शरीर अरठ्ठिएको छ । हात र खुट्टा कक्रक्क परेका छन् । उनी बोल्न सक्दैनन् तर सुन्छन् ।
एनुस जन्मजात बहुअपाङ्गताको शिकार भए । उनलाई ठिक पार्न उनकी आमा शर्मिलाले घरदेखि ३२ किलोमिटर टाढा भरतपुरसम्म फिजियोथेरापीका लागि लगिन् । भरतपुर महानगरपालिका–२८, गोलाघाटको वारिपारिटोलस्थित घरमा भेटिएकी शर्मिलाले छोरालाई ह्वीलचियरमा सम्हाल्दै भनिन्, ‘यो बाबुलाई एक हप्तासम्म भरतपुरमा लगेँ । फिजियोथेरापी गरेको एकपटकको सात सय रुपैयाँ तिर्नुपथ्र्यो । भरतपुरसम्म जाँदा र आउँदा गाडी भाडासमेत गरी दिनको हजार रुपैयाँ खर्च हुन्थ्यो । एक हप्तासम्म लगेँ । आर्थिक अभावले अरु उपचार गराउन सकिन ।’
भरतपुरसम्म फिजियोथेरापीका लागि लैजान टाढा भएपछि शर्मिलाले एनुसलाई ज्योतिनगर लैजान थालिन् । फिजियोथेरापीबाट शरीरमा भएको कडापन केही हट्दै थियो । कान्छी छोरीको जन्मपछि त्यो क्रम पनि टुट्यो । अहिले एनुसलाई अटिजम केयर सोसाइटी चितवनको समावेशी शिक्षा परियोजनामा कार्यरत घुम्ती शिक्षक मञ्जु भुसालले घरैमा पढाउने, खेलाउने र हिँडाउने गर्छिन् ।
‘६ महिना भयो एनुसलाई सिकाउन थालेको’ भुसालले भनिन्, ‘एनुस पहिला आफ्नै बुवासँग पनि डराउँथे । बुवालाई देख्दा डरले कराउँथे । उनीसँग नजिक हुन मलाई पनि एक महिना लाग्यो । अहिले उनी घरमा आउने जोकोहीसँग कुरा गर्दै जाँदा घुलमिल हुन्छन्, हाँस्छन् ।’ एनुसको वैयक्तिक शैक्षिक योजना बनाएर त्यसैअनुसार पढाउने र सिकाउने काम भइरहेको उनले प्रष्ट पारिन् ।
एनुसको बुझ्ने क्षमता राम्रो रहेको भुसालले बताइन् । ‘एनुसको बाख्रा खोई ? भन्दा उ… भन्दै देखाउँछन्, प्रष्टसँग बोल्न सक्दैनन् । हातले टेबुलटेनिसको बल समात्ने र त्यसलाई कार्टुनको बाक्सामा खसाउने गर्छन्’ भुसालले भनिन् । एक्लै एनुसलाई केही गर्न कठिनाइ पर्ने तर कसैको सहयोग पाएपछि खेल्न र हिँड्नसमेत सक्ने भएको उनले बताइन् ।
‘जुत्ता लगाइदिएपछि हिँड्न खोज्छ’ एनुसकी आमा शर्मिलाले भनिन्, ‘एक्लै हिँड्न सक्दैन । दुबै हात समातेर डुलाउँछु घर वरपर । घरमै घुम्ती शिक्षक आएपछि सजिलो भएको छ ।’
अटिजम केयर सोसाइटी चितवनले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना संचालन गरेको छ । यस परियोजना अन्तर्गत घरघरमा फरक क्षमता भएका बालबालिकालाई पढाउन घुम्ती शिक्षक ९ जना र फिजियोथेरापिस्ट १ जना रहेको परियोजना अधिकृत सन्ध्या खनालले जानकारी दिइन् । उनका अनुसार भरतपुरमा ७ र कालिकामा ६ वटा विद्यालयमा गरी ५७ जना फरक क्षमताका बालबालिकाले शिक्षा पाइरहेका छन् । घरमा पढाइएका बालबालिकामा सुधार भएपछि विद्यालयमा पठाउने गरिएको खनालले बताइन् ।
भरतपुर महानगरपालिका–२५, लेवरनगरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयको नर्सरी कक्षामा अध्ययनरत भीम सोती मगर पनि फरक क्षमता भएका विद्यार्थी हुन् । मगर जस्तै फरक क्षमताका १५ जना विद्यार्थीको वैयक्तिक शैक्षिक योजना बनाएर उनीहरुलाई शिक्षा दिइन्छ । यस्तो शिक्षा प्रभावकारी देखिएको विद्यालयका प्रधानाध्यापक अर्जुन बराल बताउँछन् । ‘पहिले कसैसँग नबोल्ने भीम अहिले हामी शिक्षकहरुलाई देख्दा नमस्कार गर्छन्’ प्रधानाध्यापक बरालले सुनाए ।