चितवन – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रातारात अड्डासार गर्ने काम गरेर हिरासतमा रहेका राष्ट्रिय स्व्तन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारबाट ज्यादती भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले मंगलबार भरतपुरको चौबिसकोठीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘अहिले मानौँ महान अपराधी फेला पारियो भने जस्तो गरी रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को ठाउँमा सार्ने, अर्को ठाउँबाट अर्को ठाउँमा सार्ने गरेका छन्’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्न होइन, रक्षा गर्ने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धन बनेको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारलाई कारबाही होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने उद्देश्यका निम्ति मात्रै समीकरण गरेको हो ।’
‘देशको राजनीति त्यति सहज ढङ्गले अगाडि बढेको छैन । विश्वको राजनीतिक परिस्थिति पनि यतिबेला सहज छैन । त्यसको असर दक्षिण एसियामा पनि परेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘विश्वको आर्थिक शक्ति बन्ने प्रतिस्पर्धामा अमेरिका र चीनको बिचमा जुन प्रतिस्पर्धा चलेको छ, हाम्रो भूराजनीतिक परिस्थितिको कारण हामी सबै असाध्यै धेरै सतर्क हुनुपर्ने, चनाखो हुनुपर्ने र नेपालको राष्ट्रिय एकतालाई अझ मजबुत बनाउनको लागि, नेपालको राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ गर्नको लागि र नेपालको भूराजनीतिक अवस्था अनुसार हाम्रो सार्वभौमसत्तालाई अझ सुदृढ गर्नको निम्ति गम्भीर रुपले सोच्नुपर्ने बेला छ यतिबेला ।’
भरतपुर महानगरपालिका र यसका मेयर रेनु दाहालको चर्चा देशभित्र मात्र नभई विश्वस्तरमा भइरहेको अध्यक्ष प्रचण्डले बताए । उनले लण्डनबाट दिइने अन्तर्राष्ट्रिय मेयर पुरस्कार भरतपुरकी मेयरले पाउन सफल भएपछि भरतपुरको चर्चा संसारभरि भएको स्मरण गरे । ‘भौतिक पूर्वाधरको क्षेत्रमा अनि शिक्षा, स्वास्थ्य र विकासको क्षेत्रमा अनि अन्य विकास निर्माणका कार्यले यो महानगरपालिका साँच्चै नै सबैको लागि एउटा उदाहरण बनेको छ’ उनले भने ।
बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनाशले बेथिति र भ्रष्टाचारविरुद्ध माओवादी केन्द्रले पालिकास्तरमा आयोजना गर्ने खबरदारी सभाको पहिलो कार्यक्रम भरतपुरबाट सुरु गरिएको बताए । उनले मंसिर २८ गते कालिका नगरपालिकामा र २९ गते माडी र राप्ती नगरपालिका एवं इच्छाकामना गाउँपालिकामा खबरदारी सभा आयोजना गरिने जानकारी दिए । रत्ननगर र खैरहनी नगरपालिकामा समेत खबरदारी सभाको आयोजना गरिने उनले बताए । जनताको सुखदुःखमा साथ दिने पार्टी नेकपा (माओवादी केन्द्र) भएको उनको भनाइ थियो ।