सिजी ल्यान्डमार्कको गेमजोनमा रमाउँदै ग्राहक, २० भन्दा बढी खेल खेल्न सकिने

चितवन – भरतपुर–१० स्थित सिजी ल्यान्डमार्कको तेस्रो तलामा रहेको एटुजेड गेमजोनमा ग्राहकको आकर्षण बढेको छ । गेमजोनमा सबै उमेर समूहका व्यक्तिहरु खेल्न मिल्ने विभिन्न किसिमका २० वटाभन्दा बढी खेल रहेका छन् । यहाँ बच्चादेखि बुढापाका उमेर समूहका व्यक्तिहरु खेल्न मिल्ने गेमहरु भएकाले ग्राहकहरु परिवारसहित आएर रमाउने गर्दछ्न् ।

रत्ननगरबाट साथीहरुसँग पहिलो पटक गेम खेल्न आएकी सोहेता पोख्रेलले यहाँ आएर गेम खेल्दा निकै रमाइलो लागेको बताइन् । उनले अन्य गेमसँगै हन्टेड हाउस अवलोकन गरेको बताइन् । हन्टेड हाउसभित्रको दृश्य, ध्वनि र त्यहाँ राखिएका सामग्री हेर्दा हरर फिल्ममा देखे जस्तो अनुभूति भएको उनले बताइन् ।

भरतपुर–१० बाट आएकी साक्षी न्यौपानेले आफू गेमजोनको नियमित आउने गरेको भएको बताइन् । उनले आफू पटकपटक आएर यहाँको गेम खेल्दै मनोरञ्जन लिने गरेको बताइन् । उनी भन्छिन्, ‘म पहिलेदेखि नै यहाँ आएर गेम खेल्ने गरेको छु । आज पनि साथीहरुलाई लिएर मिरर हाउस, हन्टेड हाउसको अवलोकनसँगै बम्पर कार गेम खेल्यौँ । निकै रमाइलो लाग्यो ।

सिजी मलमा रहेको एटुजेड गेमजोनमा आउनेका लागि पर्याप्त पार्किङको सुविधा, सफा र एसीसहितको अनुकुल वातावरण भएको हुँदा यहाँ आउने ग्राहकले गेमसँगै भरपुर मनोरञ्जन लिन सक्छन् ।

भरतपुर–११ बाट परिवारको साथमा घुम्न आएकी कल्पना मगरले मिरर मेज अर्थात् ऐना घर अवलोकन गरेको बताइन् । उनले ऐना घरमा चारैतिर ऐना नै ऐना भएको हुँदा चारैतिर आफू देखिने र कहाँबाट पसेर कहाँबाट निस्कने हो भन्ने बाटो पत्ता लगाउन मुश्किल परेको बताइन् । ‘बाटो खोज्दै जाँदा कति ठाउँमा अल्मलिएर हराए जस्तो हुने रहेछ तर घुम्दै गएपछि निस्कने बाटो पत्ता लाग्यो । निकै रमाइलो भयो’ उनले भनिन् ।

गेम जोनमा मिरर मेज अर्थात् ऐना घर, बम्पर कार, हन्टेड हाउस, सुटिङ गेम, मिनीसिटी रेस, फुटबल, भिआर, एयर हक्की, मिनी बास्केटलगायतका गेमहरु खेल्न र अवलोकन गर्न आउने गरेको गेम जोनका अध्यक्ष सन्तोष सापकोटाले बताए । पाँच वर्षभन्दा मुनिका बच्चाहरुका लागि  सफ्ट प्ले गेम, हर्स राइडिङजस्ता गेमहरु रहेको उनले बताए ।

उनी भन्छन्, ‘यहाँ बच्चाहरु लिएर आउने अभिभावकहरुलाई बच्चालाई कहाँ छोड्ने होला भन्नु पर्दैन । बच्चाहरुलाई एउटा गेममा छाडेर आफू अर्को गेम खेल्न अथवा कुनै सपिङ गर्न जान सक्नुहुन्छ भने अन्य गेम सबै उमेर समूहका व्यक्तिहरुले खेल्न सकिहाल्नु हुन्छ ।’

यहाँ बुढापाकाका लागि मसाज चियर रहेको छ । यहाँ सबै उमेरका व्यक्तिहरुले यो गेम खेले पनि बढी मात्रामा बुढापाकाले रुचाउने गरेको उनले बताए ।

गेम जोनमा न्युनतम एक सयदेखि दुई सय ५० रुपैयाँसम्ममा विभिन्न गेमहरु खेल्न सकिने उनले बताए । उनले भने, ‘यहाँ गेम खेल्न प्रायः एक पटक आएका ग्राहक दोहोरिएर आउने गर्नुहुन्छ, एक पटक आउने ग्राहकहरु फेरि आउँदा साथी लिएर आउने गर्नुभएको छ भने कोही परिवारसँग आउने गर्नुहुन्छ ।’

ग्राहकहरुले यहाँ आएर गेम खेलिसकेपछि धेरै रमाइलो भयो एक पटक त यहाँको गेम हेर्न आउनुपर्छ भन्ने जस्ता प्रतिकृया दिने गरेको उनको भनाइ छ । गेमजोनमा सार्वजनिक बिदा र शनिबारको दिन ग्राहकको भिड बढी हुने गरेको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू