जाडो मौसममा कसरी जोगिने ? यस्ता छन् डा. भोजराजका सुझाव

चितवन – मंसिर लागेसँगै चिसो बिस्तारै बढ्दै गएको छ । चिसो मौसम बढ्दै जाँदा यससँग सम्बन्धित रोगहरु पनि देखिने गर्दछन् । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ । चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ ।

जाडोयाममा हाम्रो शरीरको तापक्रम बाहिरी तापक्रमसँग मिल्न सकेन अथवा मिलाउन सकिएन भने रोग लाग्ने गर्दछ । चिसो मौसममा सबैभन्दा बढी संक्रमण रुघा हुने र यसले दीर्घ रोगीलाई प्रत्यक्षरुपमा असर गर्ने गर्दछ । मौसमी फ्लू नागबाट शुरु भएर फोक्सो सम्म पुग्ने गर्दछ। फ्लूले नाक बन्द हुने, ओठ सुख्खा हुने, टाउको भारी हुने, नाकबाट सिँगान बग्ने, घाँटीमा टन्सिल हुने, निमोनिया, ज्वरो, श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता समस्याले सताउने भएकाले जाडोमा शरीरलाई विशेष ध्यान दिनुपर्ने पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी बताउँछन् ।

उनका अनुसार जाडोमा फोक्सो, मुटु, छालाको समस्या, दम, क्षयरोग, जोर्नी दुख्ने, रोगीलाई बढी इन्फेक्सन हुने गर्दछ । मुटु सम्बन्धी समस्या हृदयघात चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हो । चिसोले रगतका नसा खुम्चने तथा साँघुरो हुने, रगत राम्रोसँग संचालन नहुने गर्छ, जसले गर्दा हृदयघातको जोखिमलाई बढाउँछ ।

जाडोमा बालबालिकालाई न्यानो गरी पुरै शरीर ढाक्ने लुगा लगाइदिनु पर्ने डा.अधिकारीको भनाइ छ । चिसो मौसममा युवाभन्दा बुढाबुढी र केटाकेटीलाई रोगले छिटो आक्रमण गर्छ । मानिसको उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ । बालबालिकाहरुलाई उनीहरुको भित्री अङ्गभन्दा बाहिरी छालाले तातोचिसो सोस्ने र फाल्ने भएकाले उनीहरुलाई बढी संक्रमण हुने गरेको डा. अधिकारी बताउँछन् ।

चिसोबाट जोगिन धेरै कुरामा ध्यान दिनुपर्छ । चिसोबाट बच्न बाक्लो लुगा लगाउनुका साथै आगो ताप्नुपर्ने उनको भनाइ छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ । भिटामिन डीको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन् ।

‘नियमितरूपमा सुन्तला, स्याउलगायत फलफूल खानुपर्छ । फलफूलमा हुने एन्टीअक्सिडेन्ट तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले नियमितरूपमा फलफूल खानुपर्छ’ डा. अधिकारीले भने, ‘जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ । रुघाखोकी मात्रै होइन योसँगै एलर्जी पनि हुन्छ । रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिने गरी मास्क लगाएर हिँड्नु पर्छ ।’

शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्छ । त्यसैले जाडो मौसममा बिहानको समयमा छिट्टै मर्निङ वाक नजाने, जानै परे अलि ढिला गरी बाक्लो लुगा लगाएर जानुपर्ने उनको सुझाव छ । फ्रिजमा राखेको खानेकुरा नखान र दैनिक क्रियाकलापमा सचेत रहन उनको सुझाव छ । उनले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने बताए । ‘बाहिरी चिसोबाट जोगिन टाउको, छाती, घाँटी, कान, हात, खुट्टा छोप्ने गरी टोपी, ज्याकेट, गलबन्दी, मास्क, मोजा, पञ्जा लगाउन बिर्सनु हुँदैन’ उनले भने ।

घरबाट बाहिर निस्कँदा सचेत रहनुपर्ने बताउँदै उनले भने, ‘भित्री चिसोबाट जोगिन तातो कुरा खाने, झोलिलो, रसिलो, गेडागुडी, सुप, दाल, साग–सब्जी पर्याप्त मात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ । झोलपदार्थ खानेकुराका साथै हरियो सागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।’

जाडोमा शरीरको बाहिरी भागलाई तातो बनाए जस्तै भित्री भागलाई पनि तातो राख्न झोलिलो कुरा खाँदा शरीरलाई लाभदायी हुने डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउँदा शरीरभित्र चिसो पस्नबाट जोगिन्छ ।’

कोठामा हिटरको प्रयोग गर्दा झ्यालढोकाको कुनै न कुनै भाग खोलेर हिटरलाई अफूभन्दा दुई मिटर टाढा राख्नु पर्ने उनी बताउँछन् । जाडोमा हिटर र गिजरको प्रयोग सावधानीपूर्वक अपनाउनु पर्ने उनको भनाइ छ । ‘चिसोको कारण झ्यालढोका सबै बन्द गरेर हिटर ताप्ने चलन छ तर, कतैबाट हावा नै नछिर्ने गरी बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ’ उनले भने, ‘उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या देखिन सक्छन् ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू