चितवन – द आर्ट अफ लिभिङ्ग चितवनको ८ दिने युथ लिडरशिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर १० गतेदेखी संचालित कार्यक्रम भरतपुरको हुलाकचोक स्थित द आर्ट अफ लिभिङ्गको सेन्टरमा सम्पन्न भएको हो ।
युथ लिडरशिप ट्रेनिङ कार्यक्रम भने नारायणी पोलिटेक्निक बहुप्राविधिक शिक्षालयको हलमा भएको थियो । कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत १६ जना छात्रा र २४ जना छात्र गरी ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सहभागि विद्यार्थीहरुलाई द आर्ट अफ लिभिङ्ग नेपालका प्रशिक्षक श्री काव्य लम्सालले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले युथ लिडरशिप कार्यक्रमले सकारात्मक उर्जा प्रवाह गरेको बताए । उनले यस्तो खालको कार्यक्रम टोल, समाज, वडा लगाएत प्रत्येक विद्यालयमा गर्न आवश्यक रहेको बताए ।
त्यस्तै विशिष्ट अतिथि एवम् द आर्ट अफ लिभिङ्गकी कन्ट्री कोर्डिनेटर देविका शाहले यस्तो खालको कार्यक्रमले नेतृत्व लिन सक्ने क्षमताको विकास हुने बताइन् । उनले हरेक युवालाई समाजप्रतिको जिम्वेवारी बोध गराई आत्मविश्वास जगाउने, सेवाको भावको विकास गर्नुका साथै वाक कलाको वृद्धि गर्ने बताईन् । त्यस्तै ८ दिनको यो तालिमले जिवनमा सकारात्मक उर्जा थपेको बताउदै उच्च आत्मबिश्वास जगाइरहने समेत बताए ।
त्यस्तै द आर्ट अफ लिभिङ चितवनका जिल्ला संयोजक भोजबहादुर खड्काले ८ दिने युथ लिडरशिप ट्रेनिङ कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन भएको बताए ।
नारायणी पोलिटेक्निक बहुप्राविधिक शिक्षालयका प्रधानध्यापक सरिता रेग्मीको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नारायणी उच्च माध्यमिक विद्यालयका संचालक समितीका अध्यक्ष टेक वहादुर थापा, भरतपुर महानगरपालिकका शैक्षिक माहाशाखा विभाग प्रमुख सुवासचन्द्र आर्चाय, द आर्ट अफ लिभिङ्ग नेपालकी प्रशिक्षक दमयन्ती रायमाझी लगाएतले बोलेका थिए ।
कार्यक्रममा माडी प्राविधिक शिक्षालयका प्रतिनिधि, भरतपुर प्राविधिक शिक्षालयका प्रतिनिधि, कलेज अफ हेल्थ साईसेन्सका प्रतिनिधि, नारायणी पोलिटेक्निक बहुप्राबिधिक शिक्षालयका शिक्षक शिक्षिका, द आर्ट अफ लिभिङ्गका सदस्य एवं विभिन्न सामाजिक ब्यक्तित्वहरु गरि करिब ३ सय जनाको उपस्थिती रहेको थियो ।


