भरतपुरको गोलाघाटले तान्दैछ पर्यटक

चितवन – भरतपुर महानगरको पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको आकर्षणमा परेको छ । भरतपुर महानगरपालिका–२८ स्थित गोलाघाट भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटर टाढा पर्छ । पूर्वबाट बग्दै आएको राप्ती र उत्तरी भेगबाट बग्दै आएको नारायणी नदीको संगमस्थल हो गोलाघाट ।

गोलाघाटको शान्त वातावरण, वनस्पति, वन्यजन्तु, जिप सफारी, हात्ती सफारी, डुंगा सयर, सूर्यास्तको दृश्य, थारु, कुमाललगायत आदिवासीको संस्कृति, रैथाने खाना र प्राकृतिक दृश्यमा पर्यटकको आकर्षण बढेको हो ।

निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा सूर्यास्तको लोभलाग्दो दृश्यले पर्यटकलाई लोभ्याउने गर्दछ । भरतपुर महानगरको अन्तिम बिन्दु रहेको हुनाले शान्त र प्राकृतिक वातावरणमा रमाउन चाहने पर्यटक गोलाघाटमा बस्न मन पराउँछन् ।

गोलाघाटमा साँझपख बढी पर्यटक घुम्न आउने गर्दछन् । हाल नारायणी नदी किनारमा तटबन्ध गरिएको छ । तटबन्धले गोलाघाटलाई बाढीबाट जोगाउनुको साथै त्यहाँ पुग्ने पर्यटकलाई दोभानमा पुग्न सजिलो पनि भएको छ ।

राप्ती र नारायणी नदीको संगम गोलाघाटमा सूर्यास्तको मनोरम दृश्य हेर्न आउने पर्यटकहरु परम्परागत संस्कृतिको अवलोकनसँगै मौलिक खानाको परिकारमा रमाउने गरेको चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताए ।

May be an image of twilight, body of water and text

‘राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन्’ राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन समूहको समेत अध्यक्ष रहेका कुमालले भने, ‘गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले जङ्गल सफारी गर्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ ।’

गोलाघाट क्षेत्रको विकासका लागि भरतपुर महानगरपालिकाले पनि सहयोग गर्दै आएको उनले बताए । उनका अनुसार गोलाघाटमा अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीहरूले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । पछिल्लो समय पर्यटक गोलाघाटमा केन्द्रित हुने गरेको उनको भनाइ छ ।

‘भरतपुर महानगरपालिकाले गोलाघाटको पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ’ उनले भने, ‘भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ घोषणा गरेपछि ‘घुमौं भरतपुर’ मा गोलाघाटलाई पनि राखेको हुनाले हाल गोलाघाटमा पर्यटक आगमन विगतको तुलनामा ५० प्रतिशतले बढेको छ ।’

गोलाघाटमा दैनिक ५ सयको हारहारीमा पर्यटक घुम्न आउने गर्दछन् । यहाँ गत वर्षको साउनमा जङ्गल भिजिट गर्न २० हजार जनाले टिकट काटेका थिए भने गएको साउनमा करिब ४८ हजार जनाले टिकट काटेको कुमालले बताए । यहाँको बाटोघाटो, सडक सन्जाल, नारायनी तटबन्धनले समेत यस क्षेत्रलाई थप सुन्दर बनाएको उनको भनाइ छ ।

गोलाघाट क्षेत्रमा सानाठुला गरेर ५७ वटा होटल तथा रिसोर्ट सञ्चालित छन् । यो क्षेत्र प्राकृतिक हिसाबले सुन्दर भएको हुनाले पर्यटकीय गतिविधि अझै चलायमान बनाउनु पर्ने उनको तर्क रहेको छ । उनले भने, ‘यस ठाउँ सबै कुराले भरिपूर्ण छ, त्यसैले यहाँँ पर्यटन गतिविधि अझै चलायमान बनाउँदै दोस्रो सौराहाको रुपमा विकास गर्नुपर्दछ ।’

 

 

May be an image of 6 people, kayak and text

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू