चितवन – भरतपुर महानगरपालिकाको गोलाघाटस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइमा पर्न थालेको छ । यस वनमा जङ्गली जनावर प्रशस्त देख्न पाइने भएपछि जङ्गल सफारीका लागि आउने पर्यटकको आकर्षण बढेको हो ।
सफारी पर्यटनका लागि नेपालको महत्त्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । पहिलेपहिले चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले जगतपुर र मेघौलीतिर आकर्षित हुन थालेका छन् । यी क्षेत्रमा समेत जिप सफारी हुने क्रम बढिरहेको छ ।
राप्ती नियन्त्रण सामुदायिक वनमा गत वर्षदेखि जिप सफारी सञ्चालनमा आएको छ । पर्यटन र संरक्षणलाई सँगसँगै लैजाने लक्ष्यसहित जिप सफारी थालिएको चितवन गोलाघाट पर्यटन विकास समिति तथा राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष विशाल कुमालले बताए ।
जिप सफारी सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय चहलपहल बढेको छ । जिप सफारी गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । बढी मात्रामा आन्तरिक पर्यटनको आगमन हुने गरेको उनले बताए ।
राप्ती नदीको किनार क्षेत्र हुँदै जाने जिप सफारीमा पर्यटकले समुदायिक वनभित्रको रमणीय वनस्पति तथा वन्यजन्तुहरु एकसिंगे गैँडा, बाघ, भालु, बाँदर, हात्ती, चित्तल, मयुर, बँदेल, मृग, विभिन्न प्रजातिका चरा आदिको अवलोकन गर्न सक्छन् ।
यहाँ बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म जङ्गल सफारी हुने गर्दछ । यस वनमा सफारीका लागि ४ वटा जिप सञ्चालित छन् । करिब डेढदेखि २ घण्टासम्म जिप सफारी गर्न सकिन्छ ।
जिप सफारीका लागि प्रति खेप ५ देखि ७ हजार रुपैयाँसम्म लिने गरिएको नेचर गाइड हरिगोविन्द कुमालले बताए । यस सामुदायिक वनमा मासिक करिब दुई हजार पर्यटक जिप सफारी गर्न आउने गर्दछन् ।
यो क्षेत्र प्राकृतिक हिसाबले सुन्दर भएकाले पर्यटकीय गतिविधि अझै चलायमान बनाउनु पर्ने कुमाल बताउँछन् । उनले भने, ‘यो ठाउँ सबै कुराले भरिपूर्ण छ, त्यसैले यहाँँ पर्यटकीय गतिविधि अझै चलायमान बनाउँदै दोस्रो सौराहाको रुपमा विकास गर्नुपर्दछ ।’
यहाँ गोलाघाट र अन्द्रौलीमा रहेका दुई वटा प्रवेशद्वारबाट जङ्गल सफारीका लागि जान सकिन्छ । यस क्षेत्रको पर्यटन प्रबर्धनका लागि भरतपुर भ्रमण वर्ष २०२४ ले समेत ठुलो टेवा पुगेको उनको भनाइ छ । यहाँ आउने पर्यटकले जिप सफारीबाहेक हात्ती सफारी र डुंगा सयर पनि गर्छन् । सूर्यास्तको मनोरम दृश्य हेर्न पर्यटकहरु गोलाघाट पुग्छन् ।


