नेपाली सिनेमा क्षेत्रमा यति बेला चलचित्र पूर्णबहादुरको सारङ्गीले तहल्का मच्चाइरहेको छ । सात दिनमा सवा आठ करोड आम्दानी गरेको यो फिल्मले नेपालभित्र ९० वटा हलमा ३ सय ८० भन्दा बढी शो पाइरहेको छ । फिल्म रिलिज भएको दसौँ दिनसम्म पनि यो चलचित्र सबैतिर हाउसफुल चलिरहेछ । नेपाली चलचित्र क्षेत्रमा यो सुखद् सङ्केत पनि हो । नेपाली चलचित्र राम्रा हुँदैनन् भन्नेहरुलाई पूर्णबहादुरको सारङ्गीले मुखमा बुझो लगाइदिएको छ । मारधाड र कमेडीबिना रोनाधोनावाला चलचित्र चल्दैनन् भन्ने भाष्य पनि पूर्णबहादुरको सारङ्गीले फेरिदिएको छ । सामान्य कथामा असामान्य चलचित्र बनेको छ पूर्णबहादुरको सारङ्गी ।
कुरो कथामै आएर अड्किएको छ यतिबेला । पूर्णबहादुरको सारङ्गीको मूल कथा चार वर्षअघि प्रकाशित आफ्नो उपन्याससँग मेल खाएको भनी उक्त पुस्तकका लेखकले दाबी गरेका छन् । ‘सङ्ग्रामपुर’ उपन्यासका लेखक डाक्टर शिवशंकर बस्यालले फेसबुकमा स्टाटस लेख्दै यो सिनेमाका थुप्रै प्रसङ्गगहरू उपन्यासका प्रसङ्गहरुसँग मिलेको दाबी गरेका हुन् । उनको यस दाबीपछि फेसबुकमा धेरै जनाले यो दाबीप्रति फिल्मका निर्देशकसमेत रहेका कथाकारको भनाइ के हो ? भनी जिज्ञासा राखेका थिए । चौतर्फी दबावपछि फिल्मका कथाकार एवं निर्देशक सरोज पौडेलले कथा चोरीको आरोप अस्वीकार गर्दै सामाजिक कथा भएकोले कहीँ कतै केही मिल्न गएमा त्यो संयोगमात्रै भएको भनी जवाफ दिएका छन् ।
फिल्मका कथाकार पौडेलले ‘संयोगमात्र हो’ भनी उम्किए पनि सङ्ग्रामपुरका लेखक बस्यालले सार्वजनिक गरेका नौ बुँदाको आधारमा हेर्दा मूल कथा मिल्न गएको नै देखिन्छ । पुस्तकमा भरिया मूलपात्र छन् भने चलचित्रमा गन्धर्व । भरियाका छोरा र गन्धर्वका छोरा दुबै विद्यालयमा टप विद्यार्थी हुनु, दुवैलाई उनीहरुका बुवाले मेडिकल पढ्न अनुरोध गर्नु, दुबै छोराले मेडिकलमा नाम निकाल्नु र पढाई पूरा गरेर डाक्टर बन्नु, भरिया र गन्धर्व दुबैका पत्नीहरुको भूमिका बिचमै हराउनु पुस्तक र चलचित्रमा पाइने समानता हुन् । छोरालाई बढाउन बुवाले गरेको सङ्घर्ष पुस्तक र चलचित्र दुबैमा उस्तै छ । यसरी हेर्दा केही त गडबड देखिन्छ नै । यदि चलचित्र निर्माण पक्षबाट कमजोरी भएको हो भने लेखकलाई कथाको क्रेडिट दिनै पर्छ । किनकि कसैको पनि बौद्धिक सम्पत्तिलाई ‘एउटै सामाजको कथा त हो नि, मिलिहाल्छ नि’ भनेर उम्किने छुट कसैलाई छैन ।