चितवनमा यस वर्ष चाडपर्वमा चार लाख फूलको माला बिक्री, चार करोडको कारोबार

चितवन – दशैँ, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वमा यस वर्ष चितवनमा चार लाख वटा फूलका माला बिक्री भएको छ । यस वर्ष स्थानीय स्तरमा उत्पादित चार लाख फूलको माला बिक्रीबाट चार करोडको कारोबार भएको छ ।

यस वर्ष चितवनमा भारतबाट फूलको आयातमा रोक लगाइएको कारण यहाँ उत्पादित फूलले बजार पाएको र कारोबार पनि सोचेजस्तो भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए ।

‘यस वर्ष चितवनलाई पुग्ने फूल चितवनमै उत्पादन भएको थियो’अध्यक्ष सापकोटाले भने, भारतीय फूल भित्रिन नदिएपछि यहाँ उत्पादन भएको फूलले बजार पायो । मूल्यमा एकरुपता हुँदा कारोबार पनि राम्रो भयो ।’

उनी भन्छन्, ‘फूलखेती गर्ने किसान, व्यापारी, उपभोक्ता सबै खुशी र सन्तुष्ट भएका छन् । भारतबाट फुल नआउँदा यहाँका किसानले उत्पादन गरेको फूल बिक्री भयो, स्टक रहेन । फूल नबिकेर कुहिएर फाल्नु परेन । एउटौ मूल्यमा माला बिक्री गर्न पाए भने उपभोक्ताहरुले पनि कुनै हाहाकार नभई सजिलै फूल खरिद गर्न पाए । त्यसकारण फुलको कारोबार राम्रो भयो ।’

फ्लोरिकल्चर एसोसिएसन चितवनले नेपाली उपभोक्ताहरु नठगियुन् भनेर सयपत्रीको माला गोटाको सय रुपैयाँ र फूल प्रतिकिलो ४ सय ५० रुपैयाँभन्दा बढीमा बिक्री वितरण नगर्न र नगराउन अनुरोध गरेको थियो । सोही अनुसार नै बिक्री वितरण भएको थियो । चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा फूलखेती भएको थियो ।

Forbes

गत वर्षको चाडपर्वमा चितवनमा साढे तीन लाख फूलको माला बिक्री भएको थियो भने सवा करोड रुपैयाँको कारोबार भएको उनले बताए । गत वर्ष केही व्यापारीले भारतबाट फूल आयात गरिदिँदा यहाँका किसानले उत्पादन गरेका फूलले बजार पाएको थिएन । बजारमा फूल धेरै भएपछि किसानहरुले सस्तो मूल्यमा बिक्री गरेका थिए । त्यसकारण गतवर्ष फूलको कारोबार कम भएको सापकोटाको भनाइ छ ।

तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछिल्लो समय चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टरमा करिब एक हजार दुई सय व्यवसायीले फूलखेती गर्दै आएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु