चितवन – चितवनमा यसबर्ष ४० विघा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। चितवनमा उत्पादित फूलले चितवनलाई पुग्ने भएका कारण यसबर्ष भारतबाट फूल आयात गर्नुनपर्ने भएको हो ।
चितवनमा यसवर्षको तिहारमा ३ लाख ५० हजार फूलको मालाको माग हुने अनुमान गरिएको छ । माग अनुसार यहाँ उत्पादित फूलले चितवनलाई पुग्ने हुँदा यसबर्ष भारतबाट आयात गर्नु नपर्ने फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए ।
उनले भने, गत बर्ष केही भारतीयले कालोबजारिको रुपमा भारतबाट बढी फूल आयात गरिदिँदा यहाँका किसानले उत्पादन गरेका फूलले बजार पाएको थिएन, त्यसैले यसबर्ष कसरी हुन्छ, भारतिय फूल माला रोक्ने प्रयास गरेका छौं ।
त्यसका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारिसँग छलफल गरी व्यापारिहरुलाई समेत भारतीय फूलको माला चितवनमा आयात नर्गन र नगराउन अनुरोध समेत गरिएको उनले बताए । यसबर्ष सयपत्री र मखमली फूलको मालाको मूल्य १ सय रुपैँया तोकिएको उनले बताए ।
१४ बर्षदेखि फूल खेती गर्दै आएका भरतपुर ७ उज्वलटोलका ईश्वर कुमार श्रेष्ठले यसबर्ष १३ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । उनले बाह्रै महिना फूल खेती गर्छन् । उनको फूलखेतिमा लामो अनुभव छ । उनले फूलखेतिसँगै अन्य किसानहरुले उत्पादन गरेका फूललाई संकलन गरी विक्रिबितरण समेत गर्दछन् ।
चितवनमा यसबर्ष फूलको माग बढी हुने उनले बताए । उनले भने, गतबर्ष भारतीय फूल बढी आयात हुँदा यहाँ उत्पादन भएको फूलमाला कम बिक्री भयो । जसकारण गतबर्षको तुलनामा फूल उत्पादन गर्ने किसान कम हुँदा यसबर्षको तिहारमा फूलको माग बढी हुने उनले बताए । व्यवसायीक फूल खेतीमा जोड दिन सके भारतबाट वर्षे ठुलो मात्रामा हुने आयात कम गर्न सकिने उनको भनाई छ ।
फूलखेतीतर्फ कृषकको आकर्षण बढिरहँदा बजारिकणको भने समस्या रहेको उनको भनाई छ । कहिले काही धेरै फूल एकै पटक उत्पादन हुँदा स्टोर गरेर राख्न समस्या हुने गरेको उनले बताए ।
जसरी कृषकहरुले चार्डपर्व लक्षित फूलखेती गर्नुहुन्छ त्यसैगरी उक्त किसानहरुले बाह्रै महिना फूलखेती गरेमा लाखौं पैसा देशमै रहने र देशमै फूलखेतीमा आत्मनिर्भर बन्न सकिने उनको तर्क छ । लगातारको परिश्रम, काममा विश्वासले फूलखेतीबाट निकै सन्तोष मिल्ने गरेको उनको भनाई छ ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तिकी ओमा माया अधिकारीले अहिले ४ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेकी छन् । उनले फूलखेती गरेको ४ बर्ष भयो । गतबर्ष भारतीय फूल भित्रिँदा आफुले उत्पादन गरेको फूल बिक्री नभएको बताईन्, उनी भन्छिन्, यसबर्ष भने फूल बिक्री हुने विश्वास लिएको छु । फूलखेतीबाट आफुलाई चाईने खर्च समेत पुर्याउदै आएको बताईन् ।
तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछील्लो समय चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा बढी मात्रामा पुष्पखेती गरिन्छ ।


