चितवन – पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै आएको चितवनको नारायणी नदी किनारको सौन्दर्य बाढीले बिगारेको छ । यही असोज ११ गते देखि १३ गतेसम्म आएको बाढीले नरायणी नदी किनारलाई क्षतविक्षेत बनाएको हो ।
पछिल्लो समय नारायणी नदी किनार आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ । नदी किनारमा चिसो हावा खाँदै शान्ता वातावरणमा घुम्न, फोटो खिच्न, मोटरबोट चढ्न, साँझको आरती हेर्न, स-साना सेलिब्रेसनका कार्यक्रमदेखी लिएर ठूला सभा समारोह, मेला महोत्सव आयोजना हुने हुँदा यहाँ पर्यटकको बाक्लो आगमन हुने गर्दथियो ।
भरतपुर महानगरले पनि नारायणी नदी किनारलाई पर्यटकको गन्तव्यको रुपमा चिनाउन बिगत देखीनै लगानी गर्दै आएको थियो । महानगरले भ्रमण बर्ष २०२४ को पर्यटक गन्तव्यको रुपमा नारायणी नदी किनारलाई राखेको थियो । तर गत हप्ता आएको बाढीले नारायणी नदी किनारको त्यो सुन्दरतालाई बिगारेको छ ।
नारायणी नदी किनार हेर्न आएका भरतपुर ३ का स्थानिय हेरम्ब कुमार श्रेष्ठ आफु दैनिक रुपमा नारायणी आउने गरेको बताए । उनले एक हप्ता अघी त्यती सुन्धर रहेको नारायणी २ दिनमै बाढिले कुरुप बनाएको बताए ।
उनले नारयणी किनार यती धेरै मात्रामा बिगार्ने गरी पहिलो पटक यस्तो बाढी आएको बताए । महानगरले यस क्षेत्रको विकासका लागि प्राप्त लगानी गरिरहेको बताउँदै उनले प्राकृतिक बिपत्ती, भौगोलिक अवस्थालाई ख्याल गरी बिज्ञहरुसँग छलफल गरेर मात्रै अबका संरचना निर्माण गर्नुपर्ने बताए ।
त्यस्तै अर्का भरतपुर महानगर २ बाट नारायणी आएका पशुपती भक्त आफु सधैं नारायणी किनार आउने गरेको बताए । उनले बाढीले बिगारेका संरचनालाई राम्रो र टिकाउ हुने गरी पुन मर्मत गर्नुपर्ने बताए । खोलालाई खोलाको रुपमा बग्न दिनुपर्ने बताउँदै कहाँ के संरचना बनाउँदा उपयुक्त हुन्छ त्यसलाई मध्यनजर गरेर मात्रै काम गर्नुपर्ने उनको भनाइ छ ।
भरतपुर महानगरले नदी किनारमा बाँध बाँधेर हरियो दुबो रोप्ने, मानिसहरुलाई हिँडडुल गर्न सहज होस् भनेर मोज्याक टाइल लगाउने, नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने भनेर पूर्वाधार निर्माणका काम गरिरहेको थियो । बाढीले चौरलाई ठाउँ–ठाउँमा खोतलेर बगरमा परिणत गरिदिएको छ ।
महानगरले ‘सी बिच मोडेल’ अनुसार ठाउँ–ठाउँमा बगैँचा, खेलकुदका लागि मैदान, बालबालिकाको खेल्ने स्थान, अवलोकन क्षेत्र, विश्राम स्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाएको थियो । अहिले बाढीले बिगारेको नारायणी नदी किनारलाई मर्मत गर्न भरतपुर महानगरपालिकाले फेरी थप लगानी गर्नुपर्ने भएको छ ।





