चितवनमा एक बर्षमा ४१ हजार बढी सवारी कारबाहीमा, ३ करोड ७ लाख राजस्व संकलन

चितवन – चितवनमा ४१ हजार भन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक बर्ष २०८०-८१ को एक बर्षको अवधिमा ४१ हजार ९९८ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।

कारबाही परेका सवारीसाधनहरु मध्ये सबै भन्दा बढी मोटरसाइकल रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार सो अवधिमा १४ हजार ८३३ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

यस्तै जिप तथा कार ८ हजार २२४ वटा, ट्रक/टिपर ६ हजार ४३९, बस तथा माइक्रो ५ हजार ३५९, ट्याक्टर १ हजार २६०, टेम्पो तथा अन्य सवारी साधन ५ हजार ८८३ कारबाहीमा परेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

गत आर्थिक बर्ष २०७९-८० मा ४० हजार ६ सय ६४ वटा सवारीसाधन कारबाहीमा परेका थिए । गत आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्षमा सवारीसाधन कारबाहीको संख्या बढेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख सुर्यस सुवेदीले बताए ।

आर्थिक बर्षमा कारबाहीमा परेका सवारी साधनबाट ३ करोड ७ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । जस मध्ये कारबाहीमा परेका १४ हजार ८३३ मोटरसाइकलबाट १ करोड ६ लाख १४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै ट्रक/टिपरबाट ५७ लाख १४ हजार ५ सय रुपैयाँ, बस तथा माइक्रोबाट ३६ लाख ८६ हजार ५ सय रुपैयाँ, जिप तथा कारबाट ५८ लाख ७३ हजार, ट्याक्टरबाट ११ लाख ६० हजार ५ सय रुपैयाँ र टेम्पो तथा अन्य सवारी साधनबाट ३७ लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

कुन महिनामा कति राजस्व ?

गत आर्थिक वर्षको पहिलो महिना साउनमा २४ लाख ३१ हजार ५ सय रुपैँया राजस्व संकलन भएको थियो । भदौमा २३ लाख ७० हजार, असोजमा २८ लाख ७७ हजार, कार्तिकमा २० लाख २५ हजार ५ सय रुपैँया, मंसिरमा २६ लाख ६६ हजार ५ सय रुपैँया र पुषमा २८ लाख ९८ हजार ५ सय रुपैँया राजस्व संकलन भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

यस्तै माघमा २८ लाख ६२ हजार ५ सय रुपैँया, फागुनमा २६ लाख ९४ हजार, चैतमा २४ लाख ९७ हजार, बैशाखमा २५ लाख २० हजार, जेठमा २७ लाख २ हजार ५ सय र असारमा २२ लाख २२ हजार ५ सय रुपैँया राजस्व संकलन भएको छ ।

गत आर्थिक बर्ष २०७९-८० मा सवारी कारबाहिबाट ३ करोड ४५ लाख ३८ हजार ५ सय राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा सवारी कारबाहिको संख्या बढेपनी राजस्व संकलनमा भने कमी आएको प्रमुख सुवेदीले बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु