यस्तो छ प्रकाश दूतराजको म्युजिकल फिल्म ‘करिम’ (भिडियोसहित)

एटुजेड समाचार

चितवन  – गायक प्रकाश दूतराजले ल्याएको ‘म्युजिकल फिल्म’ ‘करिम’ यतिबेला चर्चामा छ । रिलिज भएको दुई दिनमा यसलाई ३ लाख ४० हजार पटक हेरिएको छ ।

१५ मिनेट लामो यो सांगीतिक फिल्मले वादी समुदायका चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लाग्न बाध्य तुल्याउने र उनीहरुलाई शोषण गरिएको मर्मस्पर्शी कथा पेश गर्छ ।

भिडियोको सुरुमै दलित समुदायभित्रको पनि सीमान्तकृत समुदाय वादीको ऐतिहासिक र सामाजिक अवस्थाको तथ्य पेश गरिएको छ । वादी समुदायका छोरी, चेली र आमाप्रति यो म्युजिकल फिल्म समर्पित गरिएको उल्लेख छ ।

दूतराजकै शब्द, संगीत रहेको गीतमा प्रकाश र शान्तिश्री परियारको स्वर छ । एक युवती पात्रमार्फत दूतराजले फिल्ममा बादी समुदायको परिस्थितीको चित्रण प्रयत्न गरेका छन् । उनी स्वयं यसमा हुलाकीको भूमिकामा छन् ।

चरित्र चित्रण, छायांकन र लेखनको कोणबाट दूतराजले यो सांगीतिक फिल्म बनाउन मेहनत गरेको देखिन्छ । आफ्नो ‘एकल दृष्टिकोण’ शैलीको कथावाचनबाट उनले संगीतसँगै कथा भनेका छन् । नवीन घर्ती मगरको निर्देशन र अनिल मानन्धरको छायांकनसँग दूतराजले सांगीतिक संयोजन गरेका छन् ।

यो सांगीतिक फिल्मको मुख्य विषयवस्तु वादी समुदायका बालिका र युवतीलाई पैसाको लागि जबर्जस्ती यौन कार्यमा लाग्न बाध्य बनाउने पक्ष हो । यो भिडियोलाई लिएर दूतराजले एकैसाथ प्रशंसा र आलोचना प्राप्त गरेका छन् ।

धेरैले उनको गायन र संगीतको पक्ष प्रशंसा गरेका छन् भने वास्तविक कथावस्तुलाई चित्रण गरेको उल्लेख गरेका छन् । समग्रमा दूतराजको यो पछिल्लो म्युजिकल फिल्मले आलोचनाभन्दा प्रशंसा बटुलिरहेको छ ।

https://youtu.be/fUclawyqvks

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू