युवाहरूले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री डा. महत

एटुजेड समाचार

काठमाडौं – अर्थमन्त्री डा. प्रकाश शरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् ।

शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

उनले युवाहरूको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए ।

उनले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरूलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गरे । उनले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरूले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए ।

उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए । नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको उनको भनाई छ ।

उनले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताए । अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरू सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताए ।

उनले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए । उनले सरकारले पनि आइटी क्षेत्रको प्रवर्द्धन गर्दै लैजाने बताए ।

उनले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रूपमा सुधार हुँदै गएको दाबी गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु