चितवनमा यस बर्षको तिहारमा साढे तीन लाख फूलको माला बिक्री, सवा करोडको कारोबार

चितवन – चितवनमा तिहारको समयमा तीन लाख भन्दा बढी फूलको माला बिक्री भएको छ । यस वर्ष स्थानीय स्तरमा उत्पादित सवा तीन लाख र भारतबाट आयातित करिब ३५ हजार माला बिक्री भएको हो । फूलको माला बिक्रीबाट सवा करोडको कारोबार भएको छ ।

यस बर्ष चितवनमा फूलको उत्पादन धेरै भएपनी सोचेजस्तो कारोबार भने नभएको फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष तेजेन्द्र सापकोटा बताउँछन् ।

चितवनलाई पुग्ने फूल चितवनमै उत्पादन भएको थियो । थप फूल छिमेकी जिल्ला र भारतबाट पनि आयात हुँदा बजारमा यस बर्ष फुल धेरै भयो । जस्को कारण किसान किसानविच प्रतिशपर्धा हुँदा सस्तो मुल्यमा मालाको बिक्रि वितरण भयो । सो कारण फूलको कारोवारमा कमी आएको उनी बताउछन् ।

उनले भने “गत वर्षको तिहारमा रु एक सयमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष ३०/४० रुपैयामा उपभोक्ताले फूल खरिद गरेका थिए । कारोबार कम हुनुको मुख्य कारण फूलको मूल्य कमी हुनु पनि हो ।”

गत बर्षको तिहारमा चितवनमा चार लाख फूलको माला बिक्री भएको थियो भने दुई करोडको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवनका सचिव सुलभ श्रेष्ठले बताए । यसबर्ष फूलको मालाको संख्यासंगै कारोबारमा पनि कमी आएको श्रेष्ठ बताउछन् ।

सचिव श्रेष्ठले भने, “यो वर्ष चितवनमा फूलको उत्पादन राम्रो भएको थियो । तर पनि आर्थिकमन्दीका कारण जतीपनी फूल, मालाको डेकुरेशन हुने हो त्यो भएन । त्यस्तै टिका, माला लगाउने युवाहरु बैदेशिक रोजगारीको लागि पलायन भए त्यसको प्रभाव पनि फूल र मालामा देखियो ।” जसकारण हामीले अनुमान गरेको भन्दा कम व्यापार भयो उनले भने ।

फ्लोरिकल्चर एशोसिएशन चितवनले नेपाली उपभोक्ताहरु नठगिउन भनेर सयपत्रीको माला १०० र खुल्ला फुल प्रति के.जी ५०० भन्दा बढीमा बिक्री वितरण नगर्न र नगराउन अनुरोध समेत गरेको थियो । तर यसपटक बजारमा फूल धेरै भएपछी किसानहरुले सस्तो मुल्यमा बिक्रिबितरण गरेका थिए । चितवनमा यस बर्ष ५० बिघा क्षेत्रफलमा फूल खेती भएको थियो ।

पछिल्लो समय बजार माग वृद्धिसँगै चितवन लगाएत काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू