चितवनमा असोज ३० गतेदेखि नयाँ नोट साटिने, प्रतिव्यक्ति १८ हजार पाइने
अस्मिता पराजुली
चितवन – चितवनमा वडा दशैँ र तिहारका लागि यही असोज ३० गते (मंगलबार) बाट नयाँ नोट साटिने भएको छ । भरतपुर महानगरपालिका १० चौविसकोठीस्थित राष्ट्रिय वाणिज्य बैंक भरतपुरले ३० गते मंगलबारबाट नयाँ नोट बाड्ने तयारी गरेको हो ।
राष्ट्रिय वाणिज्य बैँक भरतपुर शाखाका प्रमुख सविन अधिकारिले मंगलबारदेखि तीनदिनसम्म नयाँ नोट बाड्ने तयारी गरिएको जानकारी दिए । उनले एक जनालाई १८ हजार पाँचसय मात्र लिन पाउने गरी नोट साटिने बताए ।
नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न ठाउँका बैकहरुमा नयाँ नोट पठाई सकेको छ । चितवनमा भने दुई दिन ढिला गरी नयाँ नोट सटही हुने भएको हो ।
अघिल्ला वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ ।
यसका साथै राष्ट्र बैंकले नयाँ नोटको सटहीसँगै नोटको जतनमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । नयाँ नोट लिने धेरैलाई नोटको जतन गर्नुपर्छ भन्ने थाहा भए पनि त्यसमा खासै ध्यान नदिएको राष्ट्र बैंकले जनाएको छ । नोट जतन गर्न नोटलाई चिसो हातले नछुने, नकोर्ने, रंग नलगाउने र नोटलाई ‘मनी ब्यागमा मिलाएर राख्न बैँकको सुझाव छ ।
तपाइँको प्रतिक्रिया