चितवनमा यस्ता छन् चार्डपर्व लक्षित विशेष सुरक्षा योजना

एटुजेड समाचार

अस्मिता पराजुली

चितवन – चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको तयारी गरेको छ । प्रहरीले दसैँ तिहार र छठ पर्वलाई लक्षित गरि जिल्लामा हुने चोरी, डकैती, लुटपाट, सवारी दुर्घटना, मादक पदार्थ सेवन गरी हो हल्ला तथा झै-झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजनाको तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता विजयराज पण्डितले आउँदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी जिल्लाभर सुरक्षाकर्मी खटाईने बताए ।

चार्डपर्वका समयमा चोरी डकैती जस्ता गतिविधी बढी हुने भएकाले विभिन्न तरिकाले रात्रीकालिन गस्ती, सादा पोसाकमा प्रहरी परिचालन लगाएत योजनागत तरीकाले सुरक्षा व्यबस्था मिलाउने तयारी भएको उनले बताए ।

साथै उनले घरदैलो कार्यक्रम, टोल सुधार समितिसँग समन्वय गरी सुरक्षा समिती गठन गरी जनचेतनामुलक प्रचारप्रसार र सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सचेतनाका कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।

त्यस्तै चितवनमा सबै ठाउँबाट आउने वा जाने यात्रुहरुलाई सेन्टर पर्ने ठाउँ भएकाले यात्रुहरुको बढी चाप हुन्छ । छोटो तथा लामा दुरिमा चल्ने सार्वजनिक सवारीसाधनले तोकिएको दररेट भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नका लागि ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने उनको भनाई छ ।

उनले भने, “केन्द्रीय बस ट्रमिनल, पुलचोक, पोखरा बसपार्क र मुग्लिनमा यात्रु सहायता कक्ष राख्ने तयारी गरिएको छ ।” बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता गतिविधिहरु भएको पाईएमा सवारिसाधनलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याईने छ ।

यात्रु सहायता कक्षबाट विभिन्न ठाउँबाट आउने यात्रुहरुलाई पर्ने समस्यालाई समाधान गर्न, उनिहरुलाई सहजिकरण गर्न सकिने छ ।

प्रहरिले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाइने, मादक पदार्थ सेवनका कारण बढी दुर्घटना हुने हुँदा विशेष ध्यान दिइएको छ । उनका अनुसार मापसे चेकिङ, नियमित चेक प्वाइन्टमा साथै अवैध मदिरा नियन्त्रणका लागि पनि प्रहरी परिचालन गरिनेछ ।

उनले नागरिकहरुलाई चार्डपर्व आफन्त सँग भेटघाट भई खुशीयाली रुपमा मनाउन, घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, बहुमूल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भीडभाडमा नजान चार्डपर्वको समयमा अपराधीक गतिविधी भए नजिकको प्रहरीलाई सम्पर्क गर्न, मदिरा सेवन गरी सवारीसाधन नचाउन, आफ्नो व्यक्तिगत सुरक्षा आँफै गर्न आग्रह गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू