चितवन जिल्ला क्रिकेट संघमा संस्थापन पक्ष हाबी : अध्यक्षमा सुदिप पिया
चितवन – चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट कार्यसमितिमा १५ जनाका लागि भएको निर्वाचनमा १४ जना संस्थापन पक्षबाट निर्वाचित भएका छन् भने १ जना संस्थापन इतर पक्षबाट विजयी भएका छन् । संस्थापन इतर पक्षबाट राजु खड्कामात्रै कार्यसमिति सदस्य बन्दा पदाधिकारी र बाँकी सदस्यहरुमा संस्थापन पक्षले जित हात पारेको हो ।
संस्थापन पक्षबाट सुदिप पियाको प्यानल र संस्थापन इतर पक्षबाट मनिष सापकोटाको प्यानलबिच भएको रोमान्चक चुनावी प्रतिस्पर्धामा सुदिप पियाले ३ मतको झिनो मतान्तरले सापकोटालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी मनिष सापकोटाले २२ मत प्राप्त गर्दा पियाले २५ मत प्राप्त गरेका हुन् । अध्यक्षमा निर्वाचित सुदिप पिया निवर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका थिए ।
यस्तै, उपाध्यक्षमा पनि संस्थापन पक्ष नै हाबी रह्यो । उमेश पिया र इशानसिंह बानियाँ बिच भएको प्रतिस्पर्धामा पिया १ मतले विजयी भए । बानियाँले २३ मत ल्याउदा पियाले २४ मत प्राप्त गरे । पिया निवर्तमान कार्यसमितिको सचिव रहेका थिए ।
यसैगरी, सचिव पदका लागि संस्थापन पक्षबाट सुरज ज्ञवाली र इतर पक्षबाट अनिल अधिकारीबिच चुनावी प्रतिस्पर्धा भएको थियो । ज्ञवालीका निकटतम प्रतिद्वन्द्वी अधिकारी १ मतको झिनो अन्तरमा पराजित भए ।
ज्ञवालीले २४ मत प्राप्त गर्दा अधिकारीको पक्षमा २३ मत खसेको थियो । पराजित भएका अधिकारी बागमती प्रदेश क्रिकेट संघका वर्तमान कोषाध्यक्ष हुन् भने ज्ञवाली चितवन जिल्ला कार्यसमिति सदस्य रहेका थिए ।
त्यस्तै, कोषाध्यक्षमा संस्थापन समुहबाट अर्जुन केसी र इतर समुहबाट वचन कार्की चुनावी मैदानमा होमिएका थिए । केसीले निकटतम प्रतिद्वन्द्वी कार्कीलाई १ मतले पराजित गर्न सफल भए । उनको पक्षमा २४ मत खस्दा विपक्षमा २३ मत खसेको थियो ।
यस्तै कार्यसमिति सदस्यका लागि १ महिलासहित ११ जनाका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट १० जना निर्वाचित भए । महिला सदस्यमा संस्थापन पक्षबाट आर्या अर्याल निर्वाचित भइन् ।
सदस्यहरुमा अरुण घले, प्रशान्तकुमार पिया, उत्सव श्रेष्ठ, जीवन गुप्ता, ध्रुव शर्मा, प्रितम पिया, विजय बोहोरा, भरतकाजी कुँवर, मेघनाथ उपाध्याय र राजु खड्का निर्वाचित भए । नेपाल क्रिकेट संघ (क्यान)को महाधिवेशन नजिकिदै गर्दा जिल्लाहरुको अधिवेशन भएको हो । प्रदेश हुँदै केन्द्रको समेत नयाँ कार्यसमिति चयनको प्रक्रियामा क्यान अघि बढेको छ ।
तपाइँको प्रतिक्रिया