काठमाडौं – रास्वपाका सांसद मनिष झाले संसद्मा भ्रष्टाचारको विषय उठाउँदा सरकारले जवाफ नदिएको बताएका छन्। मंगलबार संसदको शून्य समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थीको विषयमा सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नहरुको जवाफ नदिने बताएका हुन्।
उनले भने, ‘त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस्। भ्रष्टाचारको कुरा पटक-पटक विभिन्न फोरममा उठाउँछौं, सबैभन्दात्यसमा पनि संसदमा विशेष उठाउँछौं। तर जवाफ आउँदैन। सरकार पक्षले जवाफ दिँदैन।’
उनले ४ पटक जानकी मन्दिरको टायल र विद्युतको भ्रष्टाचारको विषयमा कुरा उठाएपनि जवाफ नआएको उल्लेख गरे।
उनले भ्रष्टाचारको विषयमा जवाफ पाउन अनसन बस्नपर्ने हो भन्दै प्रश्न गरे। झाले भने,‘सत्ता पक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता अवस्थामा हामीलाई पनि त्यहि सन्देश दिन खोजेको हो सरकारले ? कि गएर अनसन बस अनि जवाफ पाउँछौं। यदि त्यसो हो भने हामी तयार छौं।’