काठमाडौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझी काठमाडौँ परिसरको हिरासतमा छन । प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजाने भएको हो ।
अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी छ । बैशाख २० गते पक्राउ पुर्जी जारी भएता पनि उनी फरार रहेकै अवस्थामा आइतबारमात्र पक्राउ परेका हुन । यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन । उनीहरुलाई थप चार दिन हिरासतमा राख्न हिजो अदालतले अनुमति दिएको छ । प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यस्तै, नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणको गिरोहका नाइके हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथि पक्राउ पुर्जी जारी भएको हो ।


बालकृष्ण खाँण बयान
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान हुने भएको छ । सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान हिजो सकेपछि आजवाट खाँणको बयान लिन लागेको हो । योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन । जिल्ला अदालत काठमाडौंले यो मुद्दा अनुसन्धानका लागि खाँणविरुद्ध थप चार दिन समय हिजो दिइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १३ जना पक्राउ परेका छन । अहिलेसम्म यो प्रकरणमा १ सय ६ जनाका तर्फबाट करिब २४ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ ।।