चितवन – चितवनमा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष २२ हजार ९७२ हेक्टर क्षेत्रफलमा ९६ हजार ४८२ मेट्रिकटन धान उत्पादन भएको छ।
गत आर्थिक वर्ष २०७८–७९ मा सोही क्षेत्रफलमा ८४ हजार ९९६ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ११ हजार ४८६ मेट्रिकटन धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र भरतपुरका सुचना अधिकारी मिन बहादुर पुनले बताए ।
उनका अनुसार गत आवमा प्रति हेक्टर ३ दशमलव ७ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर ४ दशमलव २ पुगेको छ ।
रोगहरुको प्रकोपमा कमी, कृषकहरुमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए । उनले धान ब्लक कार्यक्रम र कृषकहरुले रासायनिक मलको अभावमा पनि अनेकौँ वैकल्पिक माध्यमबाट खाद्यतत्व व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको उनको भनाइ छ ।
‘गत वर्ष झै यस वर्ष बेमौसमी वर्षा भएन । त्यसकारण पनि यस वर्ष अनुकुल मौसमका कारण किसानहरुले समयमै धानबाली भित्र्याउन पाएको हुँदा धानको उत्पादन वृद्धि भएको हो’, उनले भने ।
कृषि मेसिनहरुको प्रयोगले पनि उत्पादन वृद्धिमा सहयोग पुगेको उनको भनाइ छ । पछिल्लो समय कृषि आधुनिकरणसहित किसानहरुले मेसिनहरुको प्रयोगमा जोड दिएका छन् ।
चितवनमा सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट एरियाको रुपमा लिईने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ ।
चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ । वर्षे धानमा साबित्रीले चितवनको सबैभन्दा बढी क्षेत्रफल ओगट्छ ।


