चितवन – चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) ५ः२५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर १० भानुचोकस्थित पूर्व-पश्चिम राजमार्गमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
टाँडीबाट नारायणगढतर्फ आइरहेको ना ८ ख २५५५ नम्बरको तेल बोक्ने ट्याङकरले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हेटौडा उपमहानगरपालिका ११ बस्ने २६ बर्षका सुदन लुइटेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
मोटरसाइकल पछाडि सवार उनकी छोरी ९ बर्षकी छोरी सोभानी लुइटेल घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङकर र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।