चितवन – वन मन्त्री प्रदीप यादवले चितवन राष्ट्रिय निकुञ्जमा फ्लाईओभर बनाउनका लागि अध्ययन भइरहेको बताएका छन् ।
आज (शुक्रबार) चितवन राष्ट्रिय निकुञ्जको स्वर्ण महोत्सवमा बोल्दै मन्त्री यादवले जनावरलाई सहज रूपमा आवतजावतका लागि फ्लाईओभर बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन बारे अध्ययन गरिरहेको बताएका हुन् । ‘भर्खरै हामीले निकुञ्ज भित्र फ्लाई ओभर बनाउनका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई अधिकार दिएका छौं । अहिले ईआईए अध्ययन भइरहेको छ’, उनले भने ।
उनले निकुञ्जमा फ्लाईओभरसहितको सडक बनाएर २४ सै घण्टा आवतजावतको व्यवस्था गरिने बताए । यसका लागि वन मन्त्रालय अघि बढेको उनको भनाइ थियो । ‘निकुञ्ज र माडीबासीको द्धन्द थियो । निकुञ्ज सडक बनाउन दिएन, पुल बनाउन दिएन । ऐनले धेरै कुरा रोकेको छ । निकुञ्जको दोष हैन । हामी सडक निर्माण रोक्न लागेको होइन । अब माडीबासीका लागि सडक बनाएर २४ सै घण्टा आवतजावन खुला गर्नुपर्छ । यसका लागि वन मन्त्रालय अघि बढेको छ’, मन्त्री यादवले भने ।
उनले अघि भने,’मैले वार्डेन साहेबलाई कि राति मान्छे बिरामी भयो भने कसरी जान दिनुहुन्छ “? वार्डेन साहेबले भन्नु भयो उहाँहरुले फोन गर्नुहुन्छ । हामीले सेनालाई भन्दिन्छौं र जान दिन्छौं । नेपालको नेट्वर्क कस्तो छ थाहा छदैछ । १५ मिनेट फोन लगायो भन्ने बल्ल फोन लाग्छ । त्यस्तो भयो भने मान्छे बाँच्छन् कि बाँच्दैनन् ? पाँच मिनेटमा मान्छेको मृत्यु भइहाल्छ । पाँच मिनेट पनि उसको लागि महत्त्वपूर्ण हुन्छ । त्यस कारण अब सडक पनि बनाउनपर्छ र वन्यजन्तु आवतजावतको लागि फ्लाईओभर पनि बनाउनपर्छ ।’
उनले अब निकुञ्ज र माडीबासीबीचको द्धन्द अन्त्य हुने बताए । उनले माडीबासीले पनि निकुञ्ज र वन्यजन्तुको रक्षा गर्नुपर्ने बताए । वन र खोला नाला नरहे मानिस पनि नरहने भन्दै यसको रक्षा गर्नु सबैको कर्तव्य भएको उनको भनाइ थियो । उनले निकुञ्जमा बाघको संख्या बढेसँगै चुनौती पनि बढेको बताए ।