ठोरीको अर्को भाइरल बिकास : वरपर बाँझो जमिन, बीचमा पर्खाल

एटुजेड समाचार

ठोरी – वरपर बाँझो जमिन । बीचमा पर्खाल । पर्साको ठोरी गाउँपालिका ४ विशालचोकस्थित श्री माध्यमिक विद्यालय विजयबस्तीको स्वामित्वमा रहेको जग्गाको बीचमा यसरी पर्खाल बनाईएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा यो तस्विर भाईरल भइरहेको छ । संघीय सरकारको १६ लाख बजेटमा उक्त पर्खाल बनाईएको भनेर सामाजिक सञ्जालमा तस्विरको चर्चा छ । सामाजिक सञ्जालमा १६ लाख भनिए पनि उक्त पर्खाल संघीय सरकारको आठ लाख बजेटमा निर्माण भएको हो ।

गत आर्थिक वर्षको अन्त्य तिर उक्त पर्खाल निर्माण भएको हो । २६ मिटरको उक्त पर्खाल खेल मैदान घेर्नका लागि लगाएको भनिएको छ । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष बनेका लालबहादुर श्रेष्ठले उक्त पर्खाल बनाएका हुन् ।

‘पहिला जमिन मासिक सात हजारमा कमाउन दिएको थियो । व्यवस्थित गरौं भनेर स्कुलको माग अनुसार नै पर्खाल बनाएको हो । खास्सै केही होइन’, उनी भन्छन् । विद्यालयकै पहलमा पर्खाल निर्माण गरेको भने पनि कहिलेसम्म सम्पन्न गर्ने भन्ने योजना स्वयं गाउँपालिका अध्यक्ष श्रेष्ठसँग नै छैन ।

असार मसान्तमा हतार-हतार बजेट भ्याउन र काम गरेको जस्तो देखाउन बिना कुनै योजना नै पर्खाल बनाईएको देखिन्छ । आठ फिट अग्लो पर्खाल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने प्रश्न गर्दा उनीसँग कुनै ठोस जवाफ नै छैन । खेल मैदानको लम्बाई एक सय ४५ मिटर र चौडाई एक सय १८ मिटर छ ।

Forbes

सडकतर्फ एक सय मिटर पर्खाल बनाइने र बाँकीमा मेस जाली लगाउने उनी बताउँछन् । तर कहिलेसम्म बन्छ भन्ने प्रश्न उनी गैर जिम्मेवार जवाफ दिन्छन्, ‘लाग्न त अब कति लाग्छ त्यो थाहा हुँदैन । एकै वर्षमा सकाउन पनि सकिन्छ । पाँच वर्षमा सकाउन पर्ला ।’ उक्त पर्खाल निर्माणका लागि चालु आवमा पनि आठ लाख बजेट छुट्टाईएको उनी बताउँछन् ।

उनका अनुसार पर्खाल बनाएर विद्यालयलाई हस्तान्तरण गरिनेछ । विद्यालयलाई आयस्रोत हुने गरी पर्खालको सडक पट्टीको भागमा दुई कोठे सटर बनाइने उनी बताउँछन् । तात्कालिन प्रधानपञ्चले विद्यालयले भोगचलन गर्ने गरी उक्त जमिन विद्यालयलाई दिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु