भरतपुरको मतगणना स्थलमा माला र नौमती बाजा : भित्र नतिजा आउँछ, बाहिर व्यापार बढ्छ

चितवन – चितवन उद्योग संघ परिसरमा स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । परिसर क्षेत्रमा नेता कार्यकर्ताहरु आफ्नो पार्टीका उम्मेदवारको नतिजा सुन्न आतुर देखिन्छन् ।

त्यतीकै आतुर देखिन्छन् उज्जल नर्सरीका सञ्चालक सुलभ श्रेष्ठ । हुन त उनी कुनै पार्टीको नेता कार्यकर्ताको रुपमा त्यहाँ उपस्थित छैनन् । तर गणनाको नतिजा कति बेला आउँछ भन्ने प्रतिक्षा भने उनलाई पनि हुन्छ । आफ्नो पक्षमा नतिजा आउँदा नेता कार्यकर्ता खुशी हुन्छन् र विजय उत्सव मनाउँछन् । विपक्षमा आए निराश भएर घर फर्किन्छन् ।

उनी भने जसको पक्षमा नतिजा आए पनि खुशी हुन्छन् । कारण हो, अन्तिम नतिजा आउने वित्तिकै बढे उनको व्यापार । उनी मतगणनास्थल बाहिर फूल मालाको व्यापार गर्छन् । अन्तिम नतिजा आए लगत्तै खुशीयाली मनाउन र विजयी जुलुस निकाल्न उनकोमा फूल, माला किन्नेहरु आउछन् ।

मतगणना स्थल बाहिर उनको नौमती बाजाको समूह पनि छ । नौमती बाजाको समूहको नेतृत्व हर्कमान विक र सुरेन्द्र परियारले गरेका छन् । बाजा-गाजासहित विजय उत्सव मनाउन परे उनीहरु नौमती बाजा समूह उपलब्ध गराउँछन् । उनीहरुसँग १३ जनाको बाजा समूह छ । उनीहरु विजयी प्रतिनिधिको एक टोलीसँग १५ हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । उनीहरुले दुईदेखि तीन घण्टासम्म बाजा बजाउँछन् ।

हुन त उनीहरुले यसलाई व्यापारको रुपमा मात्र भने लिएका छैनन् । सँस्कृति र मौलिक नेपाली बाजाको संरक्षणसँग पनि उनले यसलाई जोडेका छन् । ‘हाम्रो मौलिक बाजा लोप भइरहेको छ । यहाँ सँस्कृति र मौलिक नेपाली बाजाको संरक्षण पनि हुने र आम्दानी पनि हुन्छ भनेर सुरु गरेको हौँ सुरेन्द्र भन्छन् ।

Forbes

उनले सानै देखि नै बाजा बजाउन सुरु गरेका हुन् । त्यसैले नेपाली मौलिक बाजासँग उनको गाढा प्रेम छ । उनले यो अवसरलाई सँस्कृति र मौलिक नेपाली बाजाको संरक्षण र आम्दानीको स्रोतको रुपमा उपयोग गरिरहेका छन् ।

विजयी उम्मेदवारहरुलाई बाजा-गाजाका लाई अन्यत्र जान नपरोस भनेर मतगणनास्थल बाहिर नै यस्तो सुविधा उपलब्ध गराईएको उनी बताउँछन् । शुभ कार्यमा बाजाको प्रयोगलाई शुभ मानिन्छ ।

नयाँ कामको सुरुवाता नौमती बाजाको धुनसँगै गर्दा शुभ हुने सोही टिमका श्रेष्ठ बताउँछन् । दैनिक जसो विजयी जनप्रतिनिधिहरुले बाजा बजाएर विजयी उत्सव मनाउने गरेको उनी बताउँछन् । भरतपुरको सबै वडाको नतिजा आउँदासम्म मौलिक बाजाको संरक्षणमा टेवा पुग्ने र व्यापार पनि हुने उनको विश्वास छ । भरतपुरसँगै अन्य स्थानीय तहको मतगणना स्थल बाहिर पनि उनीहरुले माला बिक्री गर्दै आएका छन् ।

चुनावलाई नै मध्यनजर गर्दै चितवनमा विभिन्न टिम मिलेर ५ बिघा क्षेत्रफलमा फूल खेती गरेको उनी बताउँछन् । ति फूल चितवनसँगै बिभिन्न जिल्लामा पठाईएको छ । अहिले दिनको २ देखी साँढे २ सयको हारहारिमा चितवनमा माला बिक्री भएको उनी बताउछन् । निर्वाचन अवधिमा अहिलेसम्म करिब पाँच हजार थान माला बिक्री भएको उनी बताउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु