काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरूले स्थानीय निर्वाचनको समयमा देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् । सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ । जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ ।’ लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने बताइएको छ ।
मन्त्रालयले विदेशी मुद्रामा भारतीय इन्टरनेट प्रोभाइडरलाई भुक्तानी रोकेको विरोधमा यही वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागि नहुने इन्टरनेट व्यवसायीले घोषणा गरेका छन् । यही वैशाख १४ गते बसेको कार्यसमिति बैठकले दिवसलाई पूर्ण रूपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
इन्टरनेट सर्भिस प्रोभाइडर नेपालका अध्यक्ष सुधीर पराजुलीले सूचना प्रविधि दिवसमा सहभागी नबन्ने, प्रायोजक र आयोजक नबन्ने र कुनै पनि सहयोग नगर्ने निर्णय गरेको जानकारी दिए । सरकारले इन्टरनेट व्यवसायको समस्या समाधान गर्नतर्फ ध्यान नदिँदा थप समस्या भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।
आगामी सातादेखि इन्टरनेटसहित टिभी सेवा प्रदायकहरूको सेवा पनि रोकिन सक्ने बताइएको छ । विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेकाले टिभी सेवा पनि बन्द हुने स्थिति आउन सक्ने एसोसिएसनले बताएको छ ।