चितवन – भरतपुर महानगरपालिका २५ अमृतनगरका ४५ वर्षीय कृष्णप्रसाद न्यौपानेले वैदेशिक रोजगारमा तीन वर्ष बिताए । साउदी र मलेसियामा उनको तीन वर्ष बित्यो । विदेशमा मेहेनत गरेर राम्रै कमाई गरौंला भन्ने सोचेका न्यौपानेको कमाई सोचे जस्तो भएन ।
विदेशको बसाई अपेक्षित नभएपछि उनी नेपाल फर्किए । विदेशी भूमिमा पसिना बगाउनु भन्दा आफ्नै माटोमा तरकारी फलाउनु उनका लागि उचित लाग्यो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उदेश्यले तरकारी खेतिमा हात हाले।
२०६० सालमा उनले दश कठ्ठा क्षेत्रफलमा तरकारी खेती सुरु गरे । तरकारी खेतीले विदेश छोडेर नेपालमै बस्ने निर्णयलाई सही साबित गरिदियो । घर परिवारसँग छुट्टीएर विदेशमा बस्दा भन्दा यही बसेर कुट्टो कोदालो गर्दै तरकारी खेतीबाट उनले राम्रो आम्दानी गर्न थाले ।
तरकारी खेती उनलाई फाप्यो । राम्रै आम्दानी हुन थालेपछी उनले तरकारीको करेसाको क्षेत्रफल बढाउन थाले । अहिले उनी ३० कठ्ठामा तरकारी खेती गर्छन् । नोबेल एग्रिकल्चर फार्म दर्ता गरेर उनले भरतपुर २५ अमृतनगर, भरतपुर २० भिमनगर र भरतपुर २३ जगतपुरमा तरकारी खेती गरेका छन् । उनी हिँउदे, बर्खे र बेमौसमी तरकारी उत्पादन गर्दछ ।
उनको फार्ममा फर्सी, टमाटर, गाजर, सिम्लामेस, बन्दा, लौका, घिरौला, भेन्टा, भिण्डी, काउली, ब्रोकाउली लगायतका तरकारी उत्पादन हुन्छ । उत्पादित तरकारी चितवनका बजारसहित काठमाडौं, पोखरा, बुटवलसम्म पुराउँछन् ।
मौसम अनुसार तरकारी उत्पादन गर्न सके बजारमा माग राम्रै हुने गरेको उनी बताउछन् । तर भारतीय तरकारी नेपाल भित्रिने हुँदा नेपाली तरकारीले भने उचित मूल्य पाउन नसकेको उनको गुनासो छ ।
तरकारीको मूल्य नै कृषकको मुख्य चुनौतिको बिषय रहेको उनको बुझाई छ । यद्पी व्यवस्थित र प्राविधिक तरिकाले तरकारी खेती गर्न सकेमा राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् ।
उनले अहिले प्रत्यक्ष रुपमा आठ जनालाई रोजगारी दिएका छन् । आवश्यक पर्दा दैनिक रुपमा २० देखि ५० जनासम्मलाई रोजगारी दिने गरेका छन् । तरकारी खेतिबाट वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।
त्यस्तै भरतपुर महानगरपालिका ६ गीतानगरका मनोज कोईराला जागिर छोडेर तरकारी खेतीमा लागेका छन् । कृषि बिषयमा नै मास्टर्स गरेका कोइराला सरकारी आयोजनाहरुमा काम गर्थे । पछिल्लो चार वर्षयता भने उनी आँफै तरकारी खेतीमा लागेका छन् ।
दाजु सरोज कोईरालासँग मिलेर उनले २०७४ सालदेखि तरकारी खेती सुरु गरे । उनीहरुले अहिले भरतपुर ६ गीतानगर र भरतपुर ७ प्रेमबस्तिमा तरकारी लगाएका छन् । दुई बिघा क्षेत्रफलमा करीब २० लाखको लगानीमा उनीहरुले सुरु गरेको तरकारी खेती विस्तार हुँदै अहिले १० बिघामा फैलिएको छ ।
खेती गर्नु अघि मनोज सरकारी आयोजनाको शिलशिलमा विभिन्न ठाउँहरु पुग्थे । किसानहरुसँग उनको बढी हेलमेल हुन्थ्यो । कृषि बिषय नै पढेका मनोज यही शिलशिलमा कृषि पेसामा आकर्षित भए । त्यसपछि उनले तरकारी खेती सुरु गरे ।
“फिल्डमा हिड्ने किसानहरुलाई सिकाउने गरेर हेलमेल हुँदा हुँदै उनीहरुबाट धेरै कुरा सिक्न पाँए । त्यसैले कृषि पेसाप्रति प्रभावित भए, उनी भन्छन्, आफ्नो पढाई पनि यही सम्बन्धी भएकोले यसैमा लाग्ने सोच बनाए । अहिले तरकारी खेती गरेको छु ।”
उनको करेसामा टमाटर, गाजर, क्याप्सिकम, लौका, घिरौला, भेन्टा, भिण्डी, बोडी, सिमी, काउली, ब्रोकाउली, बन्दा, चुकन्दर लगाएतका तरकारी उत्पादन हुन्छ । सिजन अनुसार हिउँदे, बर्खे र बेमौसमी तरकारी लगाउँछन् । उत्पादित तरकारी चितवनका बजारका साथै काठमाडौं, पोखरा पुर्याउँछन् । उनले १५ जनालाई रोजगार समेत दिएका छन् ।
प्रविधिको उच्चतम प्रयोग गर्न सके उत्पादन र आम्दानी बढ्ने तथा आत्मनिर्भर बन्न सकिने उनको भनाई छ । सबै कर्च कटाएर वार्षिक ३० देखि ३५ लाख आम्दानी हुने उनी बताउँछन् ।
भरतपुर महानगरपालिका २५ अमृतनगरका ३१ वर्षीय लेखनाथ भुसाल पनि तरकारी खेतीमा रमाईरहेका छन् । समिर एग्रो इन्टरप्रेनरसिप एण्ड मार्केटिङ्ग फार्म सञ्चालन गरी भरतपुर २० भिमनगर र बद्रर्यानीमा उनले सात वर्षदेखि तरकरी खेती गर्दै आएका छन् ।
तरकारी खेती गर्नु अघि उनी शिक्षण पेसामा थिए । उनी जागिर छोडेर तरकारी खेतीमा लाग्नुको कारण २०७२ सालको भूकम्पपछि भारतले लगाएको नाकाबन्दी हो । नाकाबन्दीले नै उनलाई तरकारी खेती गर्न सिकायो ।
नाकाबन्दीमा देखिएको अभाव महसुस गर्दै उनले व्यवसायीक तरकारी खेती सुरु गर्ने योजना बनाए । उनले एक बिघाबाट खेती सुरु गरे । अहिले क्षेत्रफल बढेर पाँच बिघा भइसकेको छ ।
टमाटर, काउली बन्दा करेला, लौका, घिरौला, फर्सीलगायतका मौसन अनुसार तरकारी उत्पादन गर्ने गरेको उनी बताउँछन् । चितवनसँगै पोखरा, बुटवल, भैरहवाको बजारमा तरकारी पठाउने गरेको उनी बताउँछन् । तरकारीबाट नै वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।
बजारमा तरकारीको माग बढ्दै गएको तर आवश्यक मल र राम्रो खालको बिउ नपाउँदा भने समय समयमा समस्या हुने गरेको उनी गुनासो गर्छन् । यस्तै बिचौलियाका कारण पनि किसान मारमा पर्ने गरेको उनको गुनासो छ ।
त्यस्तै उनले भरतपुर २५ अमृतनगरमै १ सय बिघामा १८ जना साथीहरु मिलेर सामुहिक तरकारी खेती पनि गरेका छन् । ६० बिघामा सुरु गरेको तरकारी खेती अहिले अहिले एक सय बिघा पुगेको छ । तरकारी खेतीलाई थप विस्तार गर्दै लैजाने योजना रहेको उनी बताउँछन् ।
चितवनमा अहिले तरकारी खेती गर्नेको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७७-७८ मा सात हजार तीन सय २० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो । जसमा ९६ हजार चार सय चार मेट्रिक टन तरकारी उत्पादन भएको थियो ।
यस्तै आव २०७६-७७ मा सात हजार दुई सय ६५ हेक्टर तरकारी खेती गरिएकोमा ९५ हजार ६ सय मेट्रिक टन उत्पादन भएको थियो । आव २०७५-७६ मा सात हजर दुई सय हेक्टरमा तरकारी खेती गर्दा ९४ हजार आठ सय २४ मेट्रिक टन उत्पादन भएको थियो ।


