चितवन – आज माघ १ गते, अर्थात माघे संक्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।
नेपालका अधिकाशं समुदायले यो पर्वलाई साझा पर्वको रुपमा मनाउँछन् । हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्ति तथा मगर समुदायले माघे सकराती भनेर मनाउने गर्दछन् । यता थारु समुदायले माघी र खिचरा, राई समुदायले येले थेचे तथा सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउने गर्दछन् ।
माघ महिनामा नदिनालामा गई स्नान, दानपुण्य गर्दा पाप पखालिएर जाने र फल प्राप्ती हुने धार्मिक विश्वास छ । माघे संक्रान्ति किन मनाइन्छ, यसको महत्व के छ ? भन्ने बिषयमा शास्त्रीय पण्डित गणेशप्रसाद ढकालसँगको कुराकानी :
माघे संक्रान्ति भनेको के हो ?
माघे संक्रान्तिलाई ‘मकर संक्रान्ति पनि भनिन्छ । माघ महिनामा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई ‘मकर संक्रान्ति पनि भन्ने गरिन्छ । हरेक महिना सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्छ । माघे संक्रान्तिलाई माघी पर्व पनि भन्ने गरिन्छ ।
माघे संक्रान्ति किन मनाइन्छ ?
शास्त्र अनुसार सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने र सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ ।
उत्तरायणको समयमा हामीले गर्ने कर्म माघ देखि असार सम्मको लागि राम्रो मानिन्छ । जसकारण उत्तर आयम माघे संक्रान्तिबाट सुरु हुने भएकाले माघे संक्रान्तिमा गरिएका कर्मबाट फल प्राप्ती हुने विश्वास छ । माघ माहिनामा स्नान गरी सूर्य भगवानलाई पूजा आरधना र अर्ग दान गर्दा फलप्राप्ती हुन्छ ।
माघे संक्रान्तिका दिन विशेष गरी तरुल, सखरखन्न (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ ।
यस दिन नदीका दोभानमा गई शुद्ध भई सिदा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । यस दिन गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।
यसको महत्त्व के छ ?
माघ महिनामा नदीनालामा गई स्नान गर्दा हजारौं गाई दान गरेको फल प्राप्ती हुने मान्यता छ । माघमा तिलको महत्त्व बिशेष हुने हुँदा तिल नै चडाउने, तिलले नै पूजा गर्ने, तिलले नै नुहाउने, तिलनै खादा तिलको बिशेष मुल्य प्राप्ती हुने भएकोले यो पर्वको महत्त्व रहेको छ ।
बिशेष गरी उत्तर आयमा सूर्य मकर राशीमा प्रवेश गर्ने भएको कारण यो समयमा गरेका हरेक यग, दान, धर्म पूजा, पाठ आफुले गरेका कार्यहरुबाट फल प्राप्ती हुन्छ ।
माघ महिनामा तिलको लड्डु, सखरखन्न, चाकु, तरुल किन प्रयोग गरिन्छ ?
माघमा तरुल, शखरखण्डलगायतका कन्दमुल खाने गरिन्छ । प्राकृतिक कन्दमुल खाँदा शरीरमा छुट्टै किसिमको उर्जा प्राप्त हुन्छ । तिल मिसाएर लड्डु खादा शरीर श्वस्थ हुन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्रको सिदा दान गरेमा विशेष फल प्राप्त हुने आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भईने विश्वास छ ।
नदीमा गएर किन स्नान गरिन्छ ? स्नान गर्नुको महत्त्व के छ ?
माघे संक्रान्तिमा बिशेष गरी नदीनालामा गएर स्नान गर्ने गरिन्छ । माघ महिनादेखि उत्तर आयम सुरु हुने भएकाले माघमा नदीनालामा गएर स्नान गर्दा आफुले गरेका पाप पखालिएर जाने र फल प्राप्ती हुने भन्ने मान्यता छ । त्यसै कारण नदीनालामा गएर स्नान गरिन्छ ।
बिशेष गरी माघ महिनामा कालिगणडकी नदिमा गएर स्नान गरिन्छ । कालिगणडकी नदीमा सालीकग्राम पाइने भएकोले कालिगणडकी मिसीएको नदीमा नुहाउनु राम्रो मानिन्छ । कालिगणडकी नदीमा भगवानलाई गर्भमा राख्न सकिने क्षमता र उत्पादन गर्ने क्षमता हुने भएकोले त्यहाँको स्नानले हजारै फल प्राप्ती हुने मानिन्छ । बिशेष गरी चितवनको देवघाट, गुल्मी र स्याङ्जा र पाल्पाको संगम रिर्णी, त्रिबेणी, कागबेनीमा स्नान गर्नु राम्रो मानिन्छ ।
कोभिडको समयमा कसरी मनाउन सकिन्छ ?
कोभिडको समयमा आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै पर्व मनाउन सकिन्छ । पित्रीलाई बचनको शुद्धता चाहिन्छ भने भगवानलाई मनमा भावना भए जहाँ बसेर गरे पनि फल प्राप्त हुन्छ भन्ने विश्वाश छ । महामारिको समयमा नदी किनारमा गएर स्नान गर्न नमिले पनि घरमै शुद्ध तरिकाले गंगाजल मिसाएर नुहाउने, तिलका परिकार बनाउने, दान गर्ने, पूजा गर्ने गर्न सकिन्छ ।
स्वच्छ मनले भगवानको प्रथाना गरी श्रदा भक्त्तीपूर्वक फूल पाती जल चढाउँदा फल प्राप्ती हुन्छ । महामारिलाई मध्यनजर गरी घरमै बसेर मनाउन सकिन्छ । ।


