चितवन – खाने तेलको मुल्य वृद्धि भइरहेको बेला चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढेको छ । यस वर्ष चितवनमा तोरी खेतीको क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्र चितवनको तथ्याङ्कले देखाउँछ ।
केन्द्रको तथ्याङ्क अनुसार यस सिजन १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो गत वर्ष भन्दा करीव एक हजार हेक्टरले बढी हो । गत वर्ष कुल १२ हजार दुई सय ६० हेक्टरमा तोरी खेती गरिएको थियो ।



तेलको मुल्य वृद्धि हुँदा अहिले बजारमा तोरीले राम्रो भाउ पाएको छ । यही कारण यस वर्ष तोरी खेतीप्रति कृषकको आकर्षण पनि बढेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेको भनाइ छ ।
बाहिरबाट मिसावट तोरीको तेल आयातमा कडाई गरिएकोले अहिले नेपाली बजारमा तेलको मुल्य आकाशिएको छ । “बजारमा एकातिर तेलको मुल्य बढेको छ, अर्कातिर तोरीले बजार भाउ पाएको छ, उनले भने, यही कारण तोरी खेतीप्रती कृषकहरु आकर्षित भएका हुन् ।”
कृषि ज्ञान केन्द्रको तोरी ब्लक कार्यक्रमले पनि यसमा सघाउ पुगेको उनको बुझाई छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको तोरी ब्लक कार्यक्रम अन्तर्गत कम्तिमा एक सय हेक्टरमा तोरी खेती गर्ने सीमा तोकिएको छ ।



आर्थिक वर्ष २०७५-७६ मा १२ हजार दुई सय ६० क्षेत्रफलमा तोरी खेती गरिएको थियो भने १३ हजार तीन सय मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६-७७ मा १२ हजर दुई सय ५५ क्षेत्रफलमा तोरी खेती गर्दा १२ हजार एक सय ८० मेट्रिक टन तथा आव ७७-७८ मा मा १२ हजार दुई सय ६० हेक्टरमा तोरी खेती गर्दा १२ हजार दुई सय १८ मेट्रिक टन उत्पादन भएको थियो ।
यस वर्ष तोरी उत्पादन पनि बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले बताए । तोरी खेतीको क्षेत्रफल बढ्नुका साथै सिचाई र अनुकुल मौसमका कारण तोरीको उत्पादन बढ्ने देखिएको उनले बताए ।
उता चितवनमा मौरीपालक किसानहरु धेरै रहेकोले मौरी विचरण गर्दा उत्पादन पनि बढ्ने उनको भनाइ छ । “तोरीमा मौरी विचरण गर्दा उत्पादन बढाउन सहयोग पुग्छ, उनले भने, मौरी विचरण जती बढी भयो उत्पादन पनि त्यती नै बढ्ने गर्छ ।” चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली जितपुर क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।