चितवन – चितवनमा यस वर्षको तिहारमा फूलको अभाव नहुने भएको छ । फुल फुल्ने समयमा नै तिहार परेकाले यस वर्ष फूलको अभाव नहुने भएको हो ।
तर यहाँ उत्पादित फूलले भने आधा माग मात्रै धान्ने छ । चितवनमा यस वर्षको तिहारमा ४ लाख ५० हजार फूलको मालाको माग हुने अनुमान गरिएको छ । जसमध्ये व्यवसायीक फूल खेतीले २ लाख ५० हजार माग धान्ने छ । बाँकी फूल भारतबाट आयात गरिनेछ ।
चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा फूल खेती गरिएको छ । पुष्पखेतीप्रति युवाहरुको आकर्षण बढ्दै गएकोले यस वर्ष मालाको अभाव खेप्नु नपर्ने फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ बताउँछन् ।
“यस वर्ष तिहार समयमै परेको छ । चितवनमा फूल खेती गर्नेको संख्या पनि बढेको छ, श्रेष्ठ भन्छन्, चितवनका घर घरमा पनि ढकमक्क फूल फुलेका छन् । यस कारण यस वर्ष फूल अभाव हुँदैन ।”
यस वर्ष फूलको माग केही घटेको छ । गत वर्ष तिहारमा फूल अभाव भएको थियो । स्थानीय स्तरमा नै उत्पादित फूलले माग धान्न नसकेको र कोभिडको कारण भारतबाट आयात गर्न पनि नसक्दा अभाव खेप्नु परेको थियो । गत बर्ष तिहार ढिलो हुँदा फूल सुकेर खेर गएको थियो । यसपाली भने गत वर्षको जस्तो समस्या नरहेको हुँदा फूल सहज रुपमा उपलब्ध हुने उनको भनाई छ ।
चितवनमा गत बर्ष ५ लाखको हारहारिमा फूलको माला बिक्री भएको थियो । गत बर्ष भने कोभिडका कारण भारतबाट १ लाख मात्रै फूल आयात गरिएको थियो । भारतबाट फूल आयात हुन नसक्दा चितवनसँगै छिमेकी जिल्लाको फूलले यहाँको माग धानेको थियो ।
फूलखेती बारे पर्याप्त ज्ञान नहुँदा केही ठाउँमा समयमा नै नफुल्ने, चाँडै फुल्दा सुकेर खेर जाने जस्ता समस्या देखिने गरेको श्रेष्ठ बताउँछन् । कहिले काही किसानले मनलाग्दी मुल्य तोक्दा पनि समस्या हुने गरेको छ । मुल्यमा एकरुपता कायम गर्न उनी आग्रह गर्छन् ।
पछिल्लो समय चितवनमा फूल खेती गर्नेको संख्या बढ्दै गएको छ । व्यवसायीक खेतीमा जोड दिन सके भारतबाट वर्षे ठुलो मात्रामा हुने आयात कम गर्न सकिने उनको भनाई छ । अहिले चितवनमा उत्पदित फूलले माग धान्न नसक्दा भारतबाट आयात गर्नुपर्ने अवस्था छ । यस्तै बिभिन्न कार्यक्रमहरुमा सयपत्री मालाको प्रयोग पनि बढ्न थालेको छ । सपिङ्ग मल सजावट, पसल सजावट, तथा बिभिन्न कार्यक्रमका लागि स्टेज सजाउनका लागि सयपत्री फूलकै प्रयोग हुने गरेको छ ।
तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।पछील्लो समय चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा बढी मात्रामा पुष्पखेती गरिन्छ ।


