नारायणगढका शृङ्गार व्यवसायमा चहलपहल बढ्यो, व्यवसायी उत्साहित

चितवन – महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै चितवनको नारायणगढस्थित शृङ्गार व्यवसायमा चहलपहल बढ्न थालेको छ । कोभिड १९ का कारण ठप्प बनेका शृङ्गार व्यवसायमा निषेधाज्ञा खुकुलो भएसँग चहलपहल बढन थालेको हो ।

कस्मेटिक, गरगहनाका, बुटिकलगाएतका पसलमा अहिले ग्राहकको भिड लाग्ने गरेको छ । उता जिल्लामा संक्रमणदर घट्दै गएको र कोरोनाविरुद्धको खोप पनि सहज हुँदै जाँदा व्यवसायीहरु उत्साहित भएका छन् । कोरोनाका कारण लामो समय व्यापार व्यवसाय ठप्प रहँदा निराश भएका व्यवासायीहरु अहिले आशावादी हुन लागेका छन् ।

तीजमा बिशेष गरी शृङ्गार र गरगहनामा महिलाहरु बढी नै केन्द्रित हुन्छन् । तीजमा यसको छुट्टै महत्त्व छ । यस कारण तीजमा शृङ्गार र गरगहनाको व्यापार अन्य समय भन्दा बढी नै हुने गर्दछ ।

नारायणगढको पुतलिबजारमा १५ बर्षदेखि जैसवाल कस्मेटिक सञ्चालन गर्दै आएका राजन खाती तीज नजिकिएसँगै शृङ्गारका सामानको व्यापार बढेको बताउँछन् । लामो समय ठप्प रहेको व्यवसाय आहिले चलयमान हुन लागेको उनी बताउँछन् ।

गत वर्ष यही समयमा बन्द रहेको व्यवसाय यस पटक भने सञ्चालन गर्न पाउँदा उनी खुशी व्यक्त गर्छन् । लामो समय व्यवसाय बन्द हुँदा निराश बनेका उनी अहिले चाडपर्वको मुखै आएर पसल सञ्चालन गर्न पाउँदा फेरि आशावादी बनेका छन् ।

Forbes

पसलमा अहिले दैनिक २० देखि २५ हजारसम्म व्यापार हुने गरेको उनी बताउँछन् । “निषेधाज्ञा खुकुलो हुँदा अहिले व्यापार गर्न पाएका छौं । चाडपर्व सुरु भएकोले अहिले व्यापार बिस्तारै राम्रै हुँदै गएको छ, उनी भन्छन्, अब चाडपर्व आउँदै छ बन्द नभए अझै राम्रो व्यापार हुन्छ भन्ने आशा लागेको छ ।”

नारायणगढकै मिलनरोडमा ३२ बर्षदेखि सजिना कस्मेटिक सञ्चालन गर्दै आएकी हनिफा मिँया लामो समय ठप्पै रहेको व्यवसायमा केही दिन यता भने उत्साह देखिन थालेको बताउँछिन् । तीज नजिकिदै गर्दा पसलमा ग्राहकको चहलपहल बढेको उनी बताउँछिन् । उनको पसलमा पनि अहिले दैनिक १५ देखि २० हजारको व्यापार हुने गरेको छ ।

चितवनमा संक्रमणदर घट्दै जाँदा व्यवसायीहरु आशावादी हुन लागेको उनको भनाइ छ । “गत वर्ष व्यापार ठप्पै थियो । व्यवसायीहरु मारमा थिए, उनी भन्छिन्, अहिले बिस्तारै सबैले खोप लगाउँदैछन् । त्यसैले हामी व्यवसायीहरु उत्साहित छौं ।”

१७ बर्ष देखि नारायणगढको जुनहलरोडमा पोनिता शृङ्गार सञ्चालन गर्दै आएकी मिनादेवी ढकाल अघिल्ला वर्षहरु जस्तो नभए पनि गत वर्षको तुलनामा भने चहलपहल बढेकोले व्यापार राम्रो हुने आशा व्यक्त गर्छिन् । अहिले सातै दिन पसल खोल्न पाउँदा भिडभाड हुन नपाउने र ग्राहकलाई पनि सहज हुने गरेको उनी बताउँछिन् ।

“साताको तीन दिन मात्र पसल खोल्न पाउँदा बढी भिडभाड हुन्थ्यो । सबै ग्राहक एकै चोटी आउँदा संक्रमणको डर पनि हुन्थ्यो । ग्राहकहरुलाई पनि समस्या थियो, उनी भन्छिन्, तर अहिले सातै दिन खोल्न पाउँदा अनावश्यक भिडभाड हुन पाउँदैन । ग्राहक पनि आफ्नो समय मिलाएर आउँन पाउँछन् र संक्रमणको डर कम हुन्छ ।”

अहिले सिजन पनि सुरु भएकोले दैनिक १५ देखि २० हजारको व्यापार हुने गरेको उनी बताउँछिन् । उनका अनुसार सुनको जलप लगाएका गरगहनाको माग भने यस पटक अपेक्षित छैन । अझै भेला भएर दरखाने कार्यक्रमहरु गर्ने अवस्था नभएकोले पनि त्यस्ता गहनाको माग कम भएको उनको बुझाई छ ।

सहिद चोकस्थित ग्रास फेसन बुटिककी सञ्चालक अप्सरा श्रेष्ठ चाडपर्व सुरु हुँदा व्यापार बढ्न थालेको बताउँछिन् । विवाह, व्रतवन्धमा ठप्प भएको व्यापार अहिले भने राम्रो हुने आशा पलाएको उनी सुनाउँछिन् ।उनको बुटिकमा चितवनसँगै नवलपरासी, गोरखा, धादिङ, मकवानपुरलगायतका ग्राहकहरुको अर्डर आउने गर्छन् । सामाजिक सञ्जालहरु फेसबुक, टिकटक,  इन्स्टाग्रामबाट अर्डर आउने गरेको उनी बताउँछिन् । अब बिस्तारै व्यापारले गती लिने उनको अपेक्षा छ ।

नारायणगढको पुतली बजारस्थित यश चुरा पसलका सञ्चालक यश गुप्ता पनि निषेधाज्ञा खुकुलो भएसँगै बिस्तारै व्यापारले गती लिन थालेको बताउँछन् । उनको पसलमा अहिले दैनिक ६ हजारको चुरा बिक्री हुनेको गरेको छ । अघिल्ला वर्षहरुमा दैनिक १५ देखि २० हजार व्यापार गर्ने उनी अहिले कमै भए पनि बिस्तारै बढ्दै जाने आशा व्यक्त गर्छन् ।

तर नारायणगढको मिलन रोडमा पोते पसल सञ्चालन गर्दै आएकी उजेली मिँया भने अपेक्षित व्यापार नभएको बताउँछिन् । चाडपर्व सुरु भए पनि सोचे अनुसार व्यापार हुन नसकेको उनको भनाइ छ ।बजारमा चहलपहल भए पनि पसलमा ग्राहक कमै मात्रामा आउने गरेको उनी सुनाउँछिन् । कोभिडले आर्थिक समस्यामा पर्दा गरगहना मानिसको प्राथमिकतामा नपर्ने गरेको उनी बताउँछिन् ।

अघिल्ला वर्षको तीजमा दैनिक ४०-५० हजारको हुने व्यापार अहिले ४-५ हजारमा खुम्चिएको उनको भनाइ छ । तर अवस्था सामान्य हुँदै गएसँगै व्यवसाय उकालो लाग्नेमा भने उनी पनि विश्वस्त छिन् ।

यसरी नै अहिले व्यवसायीक संस्थानहरु खुल्दै गएसँगै व्यवसायीहरुले राहत महसुस गरेका छन् । कोभिडका कारण लाखौं घाटा व्यहोरेका व्यवसायीहरु चाडपर्वको समयमा यसरी व्यवसाय सञ्चालन गर्न पाउँदा ठुलो राहत मिलेको बताउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु