आफ्नो सपना र अभिभावकको फरक चाहनाले अन्यौलमा विद्यार्थी

चितवन – यसै वर्ष एसईई उतीर्ण भरतपुर महानगरपालिका ३ का उमेश चापागाई कक्षा ११ मा भर्ना हुने तरखरमा छन् । उनी +२ मा व्यवस्थापन संकाय लिएर अध्ययन गर्न चाहन्छन् । उनको भविष्यमा बैंकर बन्ने चाहना छ । तर उनको अभिभावकको चाहना ठ्याक्कै उल्टो छ । उनीहरु छोरालाई भेटनरी चिकित्सक बनाएर विदेश पठाउन चाहन्छन् । त्यसैले छोराले विज्ञान बिषय लिएर पढिदिए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ ।

आफ्नो सपना र आमा-बुबाको ईच्छा यसले उनलाई अन्यौलमा पारेको छ । उनी आफुले रोजेको बिषय पढ्ने कि आमा बुवाले चाहेको भन्ने दोधारमा छन् । “भविष्यमा बैंकर बन्ने मेरो सपना छ । यसका लागि मैले व्यवस्थापन संकाय रोज्नुपर्छ, उनी भन्छन्, तर बाबा ममीको सपना मलाई भेटेनरी डाक्टर बनाएर विदेश पठाउने छ । बाबा ममीको सोच पनि राम्रै हो तर म म्यानेजमेन्ट बिषय पढ्न चाहन्छु ।”

भरतपुर ३ कै बिक्रम कुँवर पनि कक्षा ११ मा कुन बिषय पढ्ने भन्ने अलमलमा छन् । पढाईमा राम्रै विद्यार्थी उनी +२ मा विज्ञान बिषय अध्ययन गर्न चाहन्छन् । तर उनका बुवा आमा उनलाई होटल व्यवस्थापन पढाएर विदेश पठाउन चाहन्छन् । आफ्नो रुची एकातिर र बुवाआमाको इच्छा अर्कातिर हुँदा उनी पनि अहिले के गर्ने भन्ने दोधारमा छन् ।

भरतपुर ११ कि संगिता भण्डारीको समस्या भने केही फरक छ । उनको रुची मानविकीमा थियो । तर सँगैको साथी व्यवस्थापनतर्फ गएपछि उनी पनि व्यवस्थापन बिषय नै पढ्ने भईन् । साथीले एउटै विषय पढौं भनेपछि उनले आफुले चाहेको विषय छोडेर साथीले रोजेको बिषय नै रोजिन् ।

आफ्नो रुची र अभिभावकको चाहना फरक पर्दा विद्यार्थीहरुले यस्तै समस्या झेल्दै आएका छन् । यस्तै सामान्यतया एसईईमा नतिजा राम्रो आयो भने विज्ञान बिषय पढ्नु पर्छ भन्ने सोचले अझै पनि हाम्रो समाजमा जरा गाडेर बसेको छ । कतीपय अवस्थामा आफुले साकार गर्न नसकेको सपना छोरा छोरीले पुरा गरिदिउन् भन्ने सोच पनि अभिभावकको हुन्छ । तर यसले विद्यार्थीको भविष्य बन्नुको सट्टा उल्टै अन्धकार पनि हुन सक्छ ।

Forbes

शिक्षाविद् रमाकान्त सापकोटा विद्यार्थीलाई आफ्नो रुची अनुसारकै बिषय छनौट गर्न दिनु पर्ने बताउँछन् । यसका लागि अभिभावकले नै सहयोग गर्नुपर्ने उनको भनाई छ । अभिभावकले कुनै बिषय छनौट गर्न दबाब वा करकाप गर्नुभन्दा पनि आफ्नो रुची अनुसार अघि बढ्ने बाटो खुला गरिदिनुपर्ने उनको बुझाई छ ।

शिक्षक, अभिभाक तथा आग्रजले विद्यार्थीलाई बाटो देखाउन र आफ्नो निर्णय आँफैलाई लिन दिनुपर्ने उनी बताउँछन् । “विद्यार्थीको रुचीलाई ध्यान दिनुपर्छ । तर यसमा परिवारको सल्लाह पनि उत्तिकै महत्वपूर्ण हुन्छ, उनी भन्छन्, अभिभावक र विद्यार्थी दुबैले एकआपसमा छलफल पनि गर्नुपर्छ । दबाबमा प्रतिफल खोज्यौं भने त्यसले झनै समस्या निम्त्याउन सक्छ ।”

सप्तगण्डकी कलेजका प्राचार्य मणिराज महतो करकाप नगरी विद्यार्थीले ईच्छाएको बिषय रोज्न दिनु पर्ने बताउँछन् । मेहनत गरेर पढेमा सबै विषयमा भविष्य राम्रो हुने भएकाले कसैको दबाब वा करकापमा नलागी विद्यार्थीले आफ्नो रुची अनुसार विषय छनौट गर्नुपर्ने उनी बताउँछन्।

विद्यार्थी आँफैलाई पनि आफुले छनौट गरेको बिषयमा राम्रो गर्न सक्छु भन्ने विश्वास हुनुपर्ने उनको बुझाई छ । “विद्यार्थीले विषय छनौट गर्दा राम्रो गर्न सक्छु कि सक्दिन भन्ने बारे सोच्नुपर्छ, उनी भन्छन्, अरूको प्रभावमा परेर नसक्ने बिषयमा वा आफ्नो क्षमताभन्दा बाहिर जानु हुँदैन ।” हरेक विद्यार्थीमा फरक–फरक क्षमता हुने भएकोले उनीहरूको ईच्छा, चाहना र क्षमतालाई अभिभावकले प्राथमिकता दिनु पर्ने उनको भनाई छ ।

सप्तगण्डकीमा आउने विद्यार्थीहरुलाई भर्ना हुनु पूर्व उनीहरुको रुची र क्षतमा बारे परामर्श दिइने गरेको उनी बताउँछन् । कतीपय अवस्थामा भर्ना हुन आउने विद्यार्थीहरु अन्यौलमा पर्ने गरेको पाइने भएकोले शैक्षिक संस्थाले विद्यार्थीको क्षमता अनुसार कुन बिषयमा भविष्य राम्रो हुन्छ भनेर परामर्श दिनु पर्ने उनको बुझाई छ ।

फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु