चितवन – भरतपुर अस्पतालमा एक वर्षको अवधिमा झन्डै १० हजारले प्रसूति सेवा लिएका छन् । आर्थिक वर्ष २०७७ – ७८ मा अस्पतालमा ९ हजार ९८१ जनाले प्रसूति सेवा लिएका हुन् ।
जसमा ६ हजार ३६६ जनाले साधारण सुत्केरी गराएका छन् भने ३ हजार ३९९ जनाले शल्यक्रिया तथा २१६ जनाले भ्याकुम मार्फत सुत्केरी गराएका छन् । अघिल्लो आर्थिक वर्षमा १२ हजार ६९२ जनाले प्रसूति सेवा लिएका थिए ।
अस्पतालमा चितवनसहित १९ जिल्लाका सेवाग्राहीहरुले सेवा लिँदै आएका छन् । कोरोना भाईरस संक्रमणका कारण भएको बन्दाबन्दीका कारण बाहिरी जिल्लाबाट गर्भवती महिलाहरु सेवा लिन अस्पताल आउन नपाउँदा प्रसूति सेवा लिनेको संख्या घटेको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए ।
भरतपुर अस्पतालमा कोरोनाका बिरामीको चाप बढी हुने भएकाले प्रसूति सेवा लिनेहरु घटेको उनको भनाइ छ । कोभिडको समयमा पनि अस्पतालले सुरक्षित तरिकाले प्रसूति सेवा दिइरहेको उनले बताए ।
‘कोरोनाको समयमा प्रसूति सेवा लिने र दिने दुबैलाई जोखिम नै हुन्छ तर पनि अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति, उपकरण र सेवा विस्तार गरेको छ उनले भने, प्रसूति सेवा लिनेहरुलाई सुरक्षित सेवा दिइरहेका छौं ।’
कोभिड र ननकोभिड प्रसूतिको लागि छुट्टा छुट्टै सेवा
भरतपुर अस्पतालले कोभिड र ननकोभिड गर्भवती महिला लागि छुट्टा छुट्टै सेवा दिइरहेको छ । कोरोनाको जोखिम प्रसूतिका बिरामीलाई बढी हुने भएकाले अस्पतालले छुट्टा छुट्टै सेवा दिइरहेको वरिष्ठ प्रसूति विषेशज्ञ डाक्टर सुनीलमणी पौडेलले बताए ।
संक्रमित महिलाबाट अन्यमा संक्रमण फैलिन नदिन छुट्टा छुट्टै कक्ष, अप्रेसन वार्ड, आईसियु, एनआईसियु लगाएतको छुट्टै व्यबस्थापन गरिएको उनको भनाइ छ । ‘छुट्टा छुट्टै अस्पतालमा जस्तै गरी सेवा दिइरहेका छौं, उनले भने, यसले एकबाट अर्कामा संक्रमण फैलिन दिँदैन ।’
केन्द्रीय अस्पतालमा विकसित भरतपुर अस्पताल राजधानीपछी सबै भन्दा बढी प्रसूति सेवा दिने अस्पतालको रुपमा चिनिदै आएको छ ।


