अस्मिता पराजुली,
चितवन – चितवनमा नयाँ नागरिकता लिनेको संख्या बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७७ – ७८ मा १३ हजार १८ जनाले नयाँ नागरिकता लिएका छन् ।जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०७६ – ७७ मा ८ हजार २ सय ७० जनाले नयाँ नागरिकता लिएका थिए ।
कोरोना भाईरस संक्रमणका कारण गरिएको बन्दाबन्दीको अवधी गत बर्षको तुलनामा यस बर्ष कम भएको हुँदा नागरिकता लिने व्यक्तिको संख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई बताए । पछिल्लो समय राष्ट्रिय परिचय पत्र बनाउनका लागी पनि नागरिकता अनिवार्य भएको कारण नागरिकता लिने व्यक्तिको संख्या बढेको उनको भनाइ छ ।
त्यस्तै २० जनाले बैबाहिक अंगीकृत नागरिकता, ३ जनाले अंगीकृत नागरिकता, ४६३ जनाले नाबालक परिचय पत्रको आधारमा र १३ हजार ३ सय ७ जनाले प्रतिलिपी नागरिकता लिएका छन् ।
गत आर्थिक बर्षमा भने ३१ जनाले बैबाहिक अंगीकृत, २ जनाले अंगीकृत, ७६७ नाबालक परिचय पत्रको आधारमा तथा ६ हजार ६ सय ४५ जनाले प्रतिलिपी नागरिकता लिएका थिए ।
यस्तै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको लागि ९ हजार १ सय ९४ जनाको फारम दर्ता गरिएको छ ।
राहदानीका लागि ८ हजार भन्दा बढी सिफारिस
जिल्ला प्रशासन कार्यालय चितवनमा आर्थिक बर्ष २०७७ – ७८ मा ८ हजार ४ सय ७५ जनाले राहदानीका लागि सिफारिस लिएका छन् । बैदेशिक रोजगारिका लागि ७ हजार ४ सय ५६ तथा एक हजार १९ जनाले द्रुत सेवाका लागि सिफारिस लिएका छ्न् ।
कार्यलयमा गत आर्थिक बर्षमा राहदानिको लागि १० हजार ३ सय ६५ सिफारिस परेको थियो । कतीपय देशमा जाँदा अनिवार्य खोप लगाउनु पर्ने भएको हुँदा राहदानी लिनेको संख्यामा कमी आएको साहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
साढे ५ करोड राजस्व संकलन
जिल्ला प्रशासन कार्यालयमा आर्थिक बर्ष २०७७ -७८ मा ५ करोड ४८ लाख राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक बर्षमा भने ५ करोड ८२ लाख १९ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सबै भन्दा धेरै राजस्व राहदानीबाट संकलन भएको छ । राहदानी दस्तुरबाट ४ करोड २३ लाख ६१ हजार, प्रशासनिक, न्यायिक तथा प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ करोड १४ लाख ९७ हजार ६ सय ५५, हातहतियार नविकरणबाट १ लाख १ हजार ६३, परीक्षा दस्तुरबाट १३ हजार ६ सय र अन्य प्रशासनिक सेवा शुल्क बाट ८ लाख २६ हजार ६ सय ७२ रुपैया राजस्व संकलन भएको हो ।
गत बर्षको तुलनामा यस बर्ष राहदानी लिनेको संख्या घटेसँगै राजस्व संकलमा पनि कमी आएको लेखा शाखाका अधिकृत रमेश कुमार रुवालीले बताए ।


