झन, झन बढ्दै महिला हिंसा, सहेर बस्नाले ठुलो रुप लिँदै

चितवन – उमेरले ४१ बर्ष पुगेकी भरतपुर महानगरपलिकाकी (नाम परिवर्तन) सिताको २२ बर्ष अघी प्रेम विवाह भयो । विवाह भएको सुरु सुरुमा राम्रै चलिरहेको जीवनमा बिस्तारै फाटो आयो । परिवार चलाउन सहज होस् भन्ने उद्देश्यले उनले जागिर गर्न थालिन् । तर त्यही जागिरकै कारण उनलाई परिवारमा सबैले गिराउन थाले । पढेलेखेका श्रीमानलेनै काममा जान रोकेपछि सम्बन्ध चिसिदै गयो ।

एकाएक उनको श्रीमानको व्यवहारमा परिवर्तन आयो । सुरु सुरुमा मानसिक यातना मात्रै दिने गरे पनि बिस्तारै शारीरिक यातना दिन थाले । श्रीमानले उनीमाथि कुटपिट नै गर्न थाले । दबाबमा राख्न खोज्ने, बाहिर निस्किन नदिने जस्ता यातना आफ्नै श्रीमनबाट भोग्न पर्ने बाध्यता आयो । सँगै जीवन कटाउने बाँचा गरेका श्रीमानको यातनाले उनी दिन दिनै भित्रै भित्रै मर्न थालिन् । समय बित्दै जाँदा सासु ससुराबाट अपहेलित र अनेक किसिममा यातना भोग्न पर्‍यो । विवाह गरी आफ्नो घर छोडेर पराई घरलाई आफ्नो बनाएकी उनीमा ति सबै यातनाको प्रतिकार गर्ने हिम्मत आएन । तर सहने पनि कती ? अनी उनले छुट्टै बस्ने निधो गरिन् ।

१७ बर्षकी छोरी र १० बर्षका छोरा लिएर घरको छुट्टै कोठामा बस्न थालिन् । प्रेम विवाह गरेकी ति महिला माइती र समाजको इज्ज्तको डरले आफु माथि परेको हिंसा बाहिर भन्न सक्दिनन् । माइती र परिवारको इज्जतको लागि उनले आफ्नै खुशीको बलिदान दिदै १० बर्ष सम्म हिंसा सहेर बसिन् । आफ्नै कोखबाट जन्माएकी सन्तानलाई हुर्काउने, बढाउने, शिक्षा, दिक्षा दिने सबै जिम्मेवारी आफ्नै काँधमा बोकिन् ।

तर परिवारको यातना यती मै रोकिएन । घरकै छुट्टै कोठामा बसेकी उनलाई घर निकाला गर्न खोजे । “घरमा छुट्टै बस्दा पनि घरबाट निकाल्न खोज्ने, गालीगलौच गर्ने जस्ता व्यबहार गर्न थालेको उनी बताउछिन् । ज्यानकै जोखिम हुन थालेपछी उनले पटक पटक प्रहरीमा उजुरी दिएकी छन् ।

त्यस्तै उमेरले ३० बर्ष पुगेकी भरतपुर महानगरपलिकाकी (नाम परिवर्तन) गीताको विवाह भएको १० बर्ष भयो । श्रीमानले मादक पदार्थ सेवन गरेर सधैं शारिरिक तथा मानसिक यातना दिने गर्छन् ।पढे लेखेकी उनी जागिर गर्छिन् । श्रीमानबाट हुने हिंसाका बाबजुत पनि उनी समाज र इज्जतको डरमा बाहिर हिड्दा हसिलो मुहारमा हिड्छिन् । ७ बर्षको छोराको भविष्यकै लागि भए पनि हिंसा सहेर बसेकी उनी श्रीमानले थप यातना दिन थालेपछि प्रहरीमा उजुरी दिनसम्म पुगिन् ।

Forbes

यि त केही प्रतिनिधि उदाहरण मात्रै हो । हाम्रो समाजमा महिलाहरु कुनै न कुनै तरिकाबाट घरेलु हिंसामा पर्दै आएका छन् । घरेलु हिंसाका कारण कतिपय महिला आत्महत्या गर्न वाध्य हुने गरेका छन् । महिला लगनशिल, सहनशिल, अनुशासित, सरल हुनुपर्छ भन्ने सिकाइन्छ । तर यिनै कारण पनि  महिलाहरु दबिएका छन् । केहीले हिम्मत जुटाएर आवाज उठाउने कोशिस गरे पनि अझै समाज र इज्जतको डरले आफुमाथि परेका हिंसा सहेरै बस्न वाध्य छन् महिलाहरु ।

आवाज उठाएर प्रहरीमा उजुरी दिएपनी मिलापत्र गरेर छोडिदिदा पीडकको मन बढेका उदाहरण टन्नै छन् । नारी शशक्तिकरणका लागि भनेर खुलेका संस्थाहरुले उनीहरुका लागि आवाज उठाउंँदै आएपनि उपलब्धि भने न्यून देखिन्छ । घरेलु हिंसाबाट अधिकांश महिला अमानवीय प्रवृत्तिले बाँच्न विवश छन् ।

महिलामाथि गर्ने शोषण, दमन, असमानताले गर्दा नै घरेलु हिंसाको बढीरहेको छ ।सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन्। अझ घरेलु हिंसाविरुद्धको उजुरीमा महिलाहरूले ठूलो त्रास खेप्नुपर्ने स्थिति छ। त्यसैले समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ। यद्यपि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ।

पछील्लो समय हिंसा बढ्दै गएको छ । महिलाहरु समाज र परिवारको इज्जतको डरमा आफु माथि भएका हिंसा सहेर बस्दा डिप्रेसनमा गई आत्महत्याका बाटो रोज्ने बढेको अधिवक्ता फूलमाया रानाभाटको भनाइ छ ।पुरुषवादी सोच, चिन्तन र सामाजिक संरचनाका कारण गालीगलौज गर्ने, चारित्रिक आरोप लगाउने, अपशब्द प्रयोग गर्ने, जर्बजस्त बलात्कार गर्ने जस्ता हर्कतले पनि महिला हिंसामा कमी नआएको रानाभाटको बुझाई छ ।

महिला हिंसा न्यूनिकरणको लागि महिला आफैं सचेत हुनुपर्नेमा उनको जोड छ । महिला हिंसा न्युनिकरणको लागि महिलाहरु सचेत रहने,आफु माथि परेको हिंसा समयमै सम्बन्धित निकाएमा खबर गर्ने, हिंसाको प्रतिकार गर्न सकेमात्र क्रमश महिला हिंसा न्यूनिकरण हुदै जाने उनको तर्क छ ।

महिला अधिकारकर्मी मिना खरेलले महिलाहरु समाज र इज्जतको डरमा हिंसा सहेर बस्नु,उजुरी गरिहाले प्रहरिले मिलापत्र गरेर छोडिदिनु, नियम कानुन फितलो हुनु, भएको कानुनको सही तरिकाले कार्यान्यन हुन नसक्नु लगाएतका कारण महिला हिंसा बढ्दै गएको बताईन् ।

अबका छोरीहरुलाई शिक्षा दिक्षा दिएर सक्षमा बनाउने, आफ्नो खुट्टामा आँफै उभिने बनाउने, विवाह गरेर दिएका छोरीहरुलाई हिंसाको प्रतिकार गर्न सिकाउने समाजको लागि होइन आफ्नो लागि स्वतन्त्र भएर बाँच्न सिकाउने आफूमाथि हिंसा भएमा महिला आँफैमा सचेत हुने र समयमै प्रहरी लगायत अन्य सामाजिक संस्थामा उजुरी गर्न नडराएमा महिला हिंसा न्यूनिकरण हुने उनको बुझाई छ । महिला हिंसामा परेपछी सहेर बस्दा त्यसले ठुलो रुप लिन सक्ने भएकाले समयमै सचेत हुन उनी आग्रह गर्छिन् ।

घर भित्र मात्र होइन, महिलाहरुमाथि सडक, सार्वजनिक यातायात, कार्यस्थल गरी सबैतिर बिभिन्न प्रकृतिका हिंसा हुनेगरेको भएपनि धेरै घटना सार्वजनिक हुन सकेका छैनन् ।

चितवनमा २३८ महिला हिंसाका घटना, घरेलु हिंसा मात्रै १४७

चितवनमा महिला हिंसाका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय , चितवनको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७७ – ७८ को हालसम्म मात्रै २३८ वटा महिला हिंसाका घटना उजुरी परेका छन्। गत आर्थिक बर्ष २०७६ – ७७ मा १९४ ओटा महिला हिंसाका घटना दर्ता भएको थियो । यसले महिला हिंसाको घटना बढेको पुष्टि गर्दछ ।

प्रहरी कार्यालय चितवनका अनुसार टोल छिमेकको, सामाजिक संजाल, सार्बजनिक यातायात जस्ता हिंसाका ३०९ उजुरी परेकोमा २४८ वटा मिलापत्र भएको छ । गत आर्थिक बर्षमा भने १२३ उजुरी परेकोमा ११३ नै मिलापत्र भएको थियो ।

प्रहरीको तथ्यांक केलाउने हो भनेपनि चालु आर्थिक बर्षमा २३८ वटा महिला हिंसाका उजुरी परेकोमा सबै भन्दा धेरै घरेलु हिंसाका घटना रहेका छन् । घरेलु हिंसामा कुटपिट, खानलाउन नदिने, गाली बेइज्जती जस्ता घटना बढ्दै गएको प्रहरीको भनाई छ ।

यसमध्य पनि १४७ वटा घरेलु हिंसा, ५७ जबरजस्तीकरणी, ११ जबरजस्तीकरणी उद्योग, १३ बहुविवाह, १ बालबिहाह र ९ बाल यौन दुराचारका घटनाको उजुरी परेको थियो। घरेलु हिंसाका १४७ घटनामा ११४ घटना मिलापत्र भएको छ भने ३३ वटा मिलापत्र हुन बांँकी रहेको तथ्यांक छ । अन्य हिंसाका घटना भने मुद्दा दर्ता भई प्रक्रिया अगाडी बढेको प्रहरी कार्यालय जनाएको छ ।

विपन्नदेखि सम्पन्न परिवार, सामान्यदेखि शिक्षीत सबै बर्गका घरमा महिला हिंसा तथा घरेलु हिंसाका घटनाले विकराल रुप लिदै गएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले बताए ।सामाजिक, आर्थिक, पारिवारिक असहमति लगायतका कारण समाजमा महिला हिंसा बढ्दै गएको थापाको भनाई छ । पछील्लो समय कोरोना भाईरस संक्रमणको जोखिमका कारण जारी बन्दाबन्दीको कारण पनि हिंसा बढ्दै गएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु