चितवन – नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गरेको छ । महासंघले दुई सय ६७ जना पत्रकारको जनही ७ लाखको दुर्घटना बीमा गरेको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखामा सदस्य भएर नेपालमा रहेका सबैको बीमा गरिएको महासंघले जनाएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोगमा युनाइटेड इन्सुरेन्सबाट बीमा गरिएको हो । बीमा भएका पत्रकारको मृत्यु भएमा रु ७ लाख, घाइते भएमा वढिमा रु ७० हजार सम्मको उपचार खर्च र अंगभंग भएमा अबस्था अनुसार रकम भूक्तानी गरिने छ ।
बिमाको प्रिमियम बापत रु १ लाख ४० हजार १ सय ९५ नगरपालिकाले भुक्तान गरेको हो । महासंघका अध्यक्ष नारायण अधिकारीले पत्रकारहरुको जोखिमलाई मध्यनजर गर्दै बीमा गरिएको बताए । कालिका नगरपालिका र युनाइटेड इन्सुरेन्सको सहकार्यमा बीमा गरिएको उनको भनाई छ । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले गत वर्षबाट थालिएको बीमालाई निरन्तरता दिइएको बताए । गत वर्ष कालिका नगरपालिकाले पत्रकारहरुको रु ३ लाख वरावरको बीमा गरेको थियो ।
आगामी दिनमा पनि बीमालाई निरन्तरता दिने उनले बताए । सरकारले पत्रकारहरुको रु ७ लाखको दुर्घटना बीमाको ५० प्रतिशत प्रिमियम भूक्तानी गर्ने जनाएको भए पनि कार्यबिधि बनिसकेको छैन । शाखाले यो बिमामा पत्रकारहरुलाई प्रिमियम निशुल्क गरेर बीमा गरेको हो । जिल्लाका सबै पत्रकारको सात लाखको बीमा गर्ने चितवन शाखा पहिलो भएको हुन सक्ने वताइन्छ ।