पेट्राेल बोक्ने ट्याङ्करका चालक र सहचालकलाई कोरोनाको खोप लगाइने

एटुजेड समाचार

काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई बुधवार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ तथा नेपाल पेट्रोलियम चालक सङ्घका प्रतिनिधिबीच आज भएको छलफलपछि भोलिदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो । निगमको प्रादेशिक कार्यालय थानकोटबाट सञ्चालित ट्याङ्कर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको निगमले जनाएको छ ।

चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटमा रहेकाे डिपोबाट आजदेखि नै डिपो अपरेशनको कार्य सुरु भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड, अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम आजैदेखि फिर्ता भएको छ।

सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नं प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगन्ज, चारआलीमा ट्रक तथा ट्याङ्कर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।

निगमको जनकपुर, पोखरा तथा अमलेखगन्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदूरलाई क्रमिक रूपमा खोप लगाइँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू